तीन लाख बढी बालबालिकालाई खोप लगाइँदै



डोटी, (नेस) ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरमा रहेका कुल ३ लाख २७ हजार ४ सय ८१ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ । जसमध्ये कैलाली र डडेल्धुराबाहेक अन्य सात पहाडी जिल्लाका २ लाख ९ सय ९७ बालबालिकालाई मात्रै पहिलो चरणमा मोडर्ना खोप लगाइने भएको छ ।

बाँकी रहेकालाई दोस्रो चरणमा लगाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार पहिलो चरणमा खोप लगाइनेहरुमा कञ्चनपुरमा ६० हजार ३ सय ३५, बैतडीमा ३० हजार १ सय ३५ दार्चुलामा १४ हजार ८ सय ३८, बाजुरा १६ हजार ४२, बझाङमा २२ हजार ८ सय २८, अछाममा ३२ हजार ६ सय ९६ तथा डोटीमा २४ हजार ७३ बालबालिका रहेका छन् ।

प्रायः स्कुले बालबालिका कोरोना सङ्क्रमणको जोखिममा रहेको भन्दै यहाँका सबै विद्यालयमा अध्ययन गर्ने १२ वर्षदेखि १७ वर्षमुनिका लाई मोडर्ना खोप लगाइँदै छ । यहाँका नौवटै जिल्लामा रहेका विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो । ‘कोरोनाबाट बालबालिका बढी प्रभावित हुने भएकाले हामीले स्कुले बालबालिकासहित अन्य गरी कुल ३ लाख २७ हजार ४ सय ८१ जनालाई खोप लगाउँदै छौं ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्