पत्रकार थापाद्वारा अक्षय कोष स्थापना



डोटी, (नेस) ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका संस्थापक सभापति शंकर थापाले आफ्ना दिवंगत आमाबुबाको नाममा १ लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले आफ्नी आमा कलसीदेवी थापाको प्रथम वार्षिक पुण्य तिथिको अवसरमा आफूले प्राथमिक तह अध्ययन गरेको महासरस्वती माद्यमिक विद्यालयमा ‘लालकलसी स्मृति अक्षय कोष’ को स्थापना गर्नुभएको हो ।

जोरायल गाउँपालिका–४ देउथला स्थायी बसोबास भएका पत्रकार थापाले उक्त कोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो । यसै गरी, दिवंगत आमाबुबाको स्मृतिमा आफुले माद्यमिक तह अध्ययन गरेको घण्टेश्वर माद्यमिक विद्यालय कुडिकोट जोरायलमा पनि अक्षय कोषको स्थापना गर्न लागेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै, थापाले आमाको प्रथम वार्षिक तिथिकै अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा स्थापना गरिएको तेजु स्मृति अक्षय कोष स्थापनाका लागि ६ हजार रुपियाँ, महासरस्वती माद्यमिक विद्यालय देउथलाका विद्यार्थीका लागि न्यानो लुगा खरिदमा ९ हजार ५ सय ६८ सहयोग र दृष्टि फाउन्डेशन धनगढी कैलालीमा रहेका बेसाहरा बालबालिका तथा महिलाको भोजनका लागि १० हजार १ सय ३४ उपलब्ध गराउनुभएको छ ।

विगत २६ वर्षदेखि डोटी जिल्लामा पत्रकारिता पेसामा संलग्न रहनुभएका पत्रकार थापा जिल्लाको पहिलो सामुदायिक रेडियो शैलेश्वरी र सामुदायिक रेडियो घण्टेश्वरको संस्थापक हुनुहुन्छ । विगत २ वर्षदेखि सपरिवार अमेरिकमा रहनुभएका पत्रकार थापा घण्टेश्वर अनलाइनको सम्पादक पनि हुनुहुन्छ । आमाबुबाको नाममा अक्षय कोषको स्थापना गर्ने थापा जिल्लाकै पहिलो पत्रकार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्