बालबालिकालाई लगाउन थालियो कोरोनाविरुद्धको खोप



बैतडी ।

बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै बैतडीमा पनि यो अभियान शुरु भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीशप्रसाद भट्टका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै अभियान शुरु भएको छ । अभियान पुस ११ गते सम्पन्न हुनेछ । जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा खोप दिइन थालिएको हो । यी तीन स्थानीय तहमा पुस ८ गतेसम्म अभियान सञ्चालन हुनेछ । दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा बुधबारदेखि शुरु भई पुस ९ गतेसम्म चल्ने, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८ सय १२ बालबालिका रहेका र विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको छ । जिल्लाभर २ सय ५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बैतडीमा हालसम्म ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै, खोपको पहिलो मात्रा भने ८९ हजार ९ सय ८४ जनाले लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्