तम्घासमा भुस्याहा कुकुरको आतंक

चार महिनामा टोक्यो १ सय ५४ जनालाई



गुल्मी ।

तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । कुकुरको संख्या बढ्दै जाँदा चार महिनामा १ सय ५४ जनालाई टोकिसकेको छ । तम्घास बजारका सडक, चोक तथा गल्लीमा भुस्याहा कुकुरको बिगबिगी छ । जसले गर्दा बजार क्षेत्र भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको हो । भुस्याहा कुकुरको उचित व्यवस्थापन गर्न कुनै पनि निकायले ध्यान दिएको पाइँदैन । तम्घास बजारको मुख्य बजारसहित गल्ली–गल्लीमा राति भुस्याहा कुकुरका कारण हिँड्नै समस्या हुने गरेको स्थानीय व्यवसायी कृष्ण खनाल बताउनुहुन्छ । भुस्याहा कुकुरले टोक्ने, केटाकेटी बूढाबूढीहरुलाई लखेट्ने गरेका घटना दिनहुँ वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

घरमा पालेका कुकुरलाई तिनका मालिकले एन्टी रेबिज भ्याक्सिन नियमित रूपमा नलगाउने, स्थानीय सरकारले वास्ता नगर्दा पनि रेबिज संक्रमणको खतरा अत्यधिक बढेको हो । सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कने क्रम बढ्दो छ । नगर क्षेत्रका खाली जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौं कुकुरको ताँती नै लाग्छ । त्यस्ता कुकुरले बेलाबखत बाटो हिँड्ने बटुवामाथि झम्टने र बिद्यालय जानुपर्ने बालबालिकालाई निकै नै सताउने गरेको व्यवसायी खनालले बताउनुभयो । अस्पतालमा भुस्याहा कुकुरले टोकेका बिरामी रेबिजविरुद्धको खोप लगाउन जाने क्रम बढ्दो छ ।

गुल्मी अस्पतालको तथ्यांकअनुसार साउन महिनादेखि कात्तिकसम्म ४ महिनाको अवधिमा १ सय ५४ जना जंगली जनावर तथा कुकुरले टोकेका बिरामीहरु उपचारका लागि आएको गुल्मी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पच्याले बताउनुभयो । कुकरको टोकाइबाट अत्यधिक बिरामी अस्पताल आउने गरेको उहाँको भनाइ छ । गुल्मी अस्पतालमा कुकुरले टोकेका बिरामीाई लगाइने रेबिजविरुद्धको भ्याक्सिन पहिले अस्पतालमा १ सय रुपियाँ लिने गरेको र अहिले भने निःशुल्क रूपमा लगाइएको डा. पच्या बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्