तीनजना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान



डोटी (नेस) ।

कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उहाँहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जोरायल गाउँपालिका–१ का खडगबहादुर मल्ल, जोरायल गाउँपालिका–३ का विष्नादेवी अवस्थी र शिखर नगरपालिका–१० का देवकीकुमारी दियाल (महरा) रहनु भएको छ । कृषक मल्लले तरकारी खेती, अवस्थीले पनि तरकारी खेती र च्याउ खेती अनि महराले पशुपालन व्यवसायबाट उलेख्य काम गर्नु भएकोले पुरस्कृत हुनुभएको हो ।

कृषि विकास निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच उहाँहरूलाई जनही २५ हजार रुपियाँ र सम्मान–पत्रसहित पुरस्कृत गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष कार्यविधि बनाएर यो पुरस्कार प्रदान गर्ने तयारी गरेको र यस वर्षबाट सुरुआत गरेको कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो ।

डडेल्धुरा जिल्लामा जन्मिनु भएका किसान नेता एवं शहीद भीमदत्त पन्तको नामबाट उक्त पुरस्कार राखिएको हो । कृषि र पशुपालन क्षेत्रमा राम्रो काम तथा आम्दानी गर्ने किसानहरूको हौसला बढाउनका लागि उक्त पुरस्कार र सम्मान प्रदान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख खडकबहादुर शाहले बताउनुभयो ।

‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट आफू पुरस्कृत भएकोमा आफू निकै खुशी हुनुका साथै कृषि क्षेत्रमा काम गर्ने थप हौसला प्रदान भएको जोरायल गाउापालिका–१ का कृषक खडगबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो – ‘मैले गरेको कामको मुल्याङकन गरि पुरस्कृत गरेकोमा खुशी भएको छु, कृषि क्षेत्रमा थप काम गर्ने हौसला प्रदान भएको छ ।’ उहाँले विसं २०५८ सालदेखि जोरायल गाउापालिका–१ तिलाचौडमा तरकारी खेती गर्दै आउनु भएको छ ।

यस्तै, जोरायल गाउँपालिका–३ का किसान विष्नादेवी अवस्थीले आफूले हालसम्म कुनै पनि प्राविधिक तालिम नलिएरै भए पनि च्याउ खेती, तरकारी खेती, मसलाबालीको खेती र कुखुरा पालन गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मैले तालिम नलिएरै कृषि काम गरेकी थिए, तरकारी र च्याउा खेतीले राम्रो आम्दानी भएको छ, आज पुरस्कृत भए खुशी छु ।’ उता शिखर नगरपालिका–१० का कृषक देवकी कुमारी दियाल (महरा) ले आफूले गरेको पशुपालनको स्थलगत अनुगमन र मूल्याङ्कन गरी आफूलाई पुरस्कृत गरेकोमा निकै खुशी व्यक्त गर्नुभयो ।

साथै आफूले २० रोपनी जमीनमा तरकारी खेती पनि गर्दै आएको र राम्रै आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन र कृषिसम्बन्धी हालसम्म आफूले कुनै किसिमको तालिम नलिएकाले तालिम पाउन सकेमा अझै राम्रो गर्न सकिने महराले आग्रह गर्नुभयो ।

सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका ३/३ जनाका दरले कृषकहरूलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्ने तयारी भइरहेको कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार यहाँका नौ जिल्लाबाट छनोट गरी २७ जना कृषकमध्येबाट यही पुस ५ गते पुन: १ जनालाई सर्वोत्कृष्ट र ४ जनालाई उत्कृष्ट गरी ५ जना कृषकलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्