बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप



बैतडी (नेस) ।

बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बैतडी जिल्लाभर ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका हुन् । खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् ।

पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनीमा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र ७ हजार ८२१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसै गरी मेलौली नगरपालिकामा ९ हजार १३६ जनाले पहिलो मात्रा र ५ हजार २१८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप पाएका छन् । सिगास गाउँपालिकामा ८ हजार ३९५ जनाले पहिलो मात्रा र ३ हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिकामा ६ हजार १६१ जनाले पहिलो मात्रा र ८ हजार ७५३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सुर्नया गाउँपालिकामा ३ हजार ७१८ जनाले पहिलो मात्रा र ४ हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा ५ हजार ९३७ जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

शिवनाथ गाउँपालिकामा ५ हजार १३६ जनाले पहिलो मात्रा र ३ हजार ७३५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि
जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए ।

यसैबीच, बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउने तयारी भएको हो ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाहरूका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसागै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए । यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्