रिब्दीकोट पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुने तयारीमा



पाल्पा, (नेस) ।

पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकालाई शून्य होम डेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई शून्य होमडेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष नारायणवहादुर जिसीले बताउनुभयो । उहाका अनुसार पूर्ण संस्थागत सुत्केरी बनाउनका लागि अभियान सञ्चालन गरिएको र आगामी दिनमा छिटै शुन्य डेलिभरी गरी पूर्ण सस्थागत सुत्केरी पालिका घोषणा गरिने छ ।

अहिले गाउँपालिकाले ५ वटा डेलिभरी सेन्टरबाट सुत्केरी महिलाहरूलाई सुत्केरी गराउँदै आएको जनाएको छ । पालिकामा स्वास्थ्य ईकाइसहित ११ वटा स्वास्थ्य संस्थामा रहेकोमा ५ वटा डेलिभरी सेन्टरबाट सुत्केरी गराउने कार्य गरिएको वताइएको छ । यसको साथै गर्भवती महिलाहरूलाई नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार गर्भ रहेको ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा गर्भ परीक्षण स्वास्थ्य संस्थाहरूमै गराउने, महिनाहरूमा गर्भ परीक्षण गर्दा हरेक गर्भवतीहरूलाई एक पटकमा ३० वटा अण्डा वितरण गर्ने गरी निर्णय गरिएको गाउँपालिकाकाले जनाएको छ ।

महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी नभई घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने हुँदा गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनका लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले रिब्दीकोटलाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाका लागि आवश्यक रणनीति निर्माण कार्य भइरहेको बताउनुभयो । गर्भवती महिला स्वस्थ भएमा मात्रै स्वस्थ बच्चा जन्माउन सक्ने हुँदा गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूका गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा नै बच्चा जन्माउनका लागि आधारभूत पूर्वाधार निर्माण भएको र आगामी निकट समयमा नै रिब्दीकोटलाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्