सबै सडक पक्की गर्ने नगरपालिकाको अभियान



पाल्पा, (नेस) ।

सदरमुकाम तानसेनका ग्रामीण क्षेत्रमा अझै यातायातको विकास नभइसकेको सन्दर्भमा ग्रामीण सडकमा कालोपत्रे अभियान शुरू भएको छ । शहरी क्षेत्रमा झै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने उद्देश्यले नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै वर्षैभरी सहज रुपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्रे गर्न शुरू गरेको नगरपालिकाले जनाएको छ ।

सडकलाई व्यस्थित, सुरक्षित बनाउन ग्रामीण सडकमा कालोपत्रे अभियान थालेको हो । तानसेन नगरपालिकाले गत वर्षदेख एक वडा एक किलोमिटर पक्की सडक अभियान शुरू गरेको हो । तानसेन नगरपालिकाका ग्रामीण क्षेत्रअन्तर्गत वडा– ५ सेतीपोखरी धरमपानी सम्मोबारी, बराङ्दी, वडा– ६ बर्तुङ क्षेत्र, वडा–७ काजीपौवा, प्रभास, वडा– ८ मदनपोखरा, वडा– ९ दमकडा, वडा – १० तेल्घा, वडा– ११ बन्दिपोखरा, वडा –१२ पोखराथोक, वडा –१३ बौघागुम्वा, छेर्लुङ र वडा– १४ अर्गली क्षेत्रका बासिन्दा यो अभियानबाट बढी लाभान्वित हुने छन् । तानसेनको वडा–१ मिसन, गैरागाउँ वडा –२ मेहलधारा, अशनटोल र बडीज्ञान टोल, वडा– ३ टक्सार, बसन्तपुर र भगवतीटोल, वडा– ४ सिल्खान क्षेत्र बजारको मुख्य क्षेत्रभित्र पर्दछन् ।
नगरभित्रका ग्रामीण क्षेत्रका बासिन्दालाई शहरी सुविधा प्रदान गर्न, विकासको समान पहुँच पुर्याउन, ग्रामीण भेगका कृषि, पशु उत्पादनहरु शहरसम्म पुर्याउन, पर्यटकलाई गाउँ– गाउँका होमस्टेमा पुर्याउन, ग्रामीण भेगको आय आर्जन बढाउने गरी एक वडा एक किलोमिटर पक्की सडक अभियान शुरु गरिएको नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।

सडक पूर्वाधारको स्थायी विकासको रुपमा लैजानका लागि चालु आर्थिक बर्षमा तानसेन नगरपालिकाले १४ वडामा एक किलोमिटरका दरले १४ किलोमिटर सडक कालोपत्रेको शुरु गरेको छ । यो अभियानबाट कम्तीमा ७ वर्षभित्र तानसेन नगरका १४ वटै वडाका प्रमुख सडकहरु कालोपत्रे भइसक्ने उहाँको भनाइ छ । विकासको पूर्वाधार सडक नै भएकाले ग्रामीण क्षेत्रका पक्की सडकसँगै, अन्य विकासका कामहरु पनि अघि बढ्ने, बसाई सराई रोकिने, ग्रामीण क्षेत्रमै स–साना उद्योग कलकारखाना सञ्चालन आर्थिक चलायमान हुने उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्