दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम



गुल्मी ।

दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो ।

सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सहसचिव देवीराम पाठकले बताउनुभयो । विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेबार बन्नुपर्नेमा उहाँको जोड थियो ।

सचेतना कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँड लगायतका ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक प्रस्तुति राखेका थिए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताउनुभएको थियो । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उहाँको धारणा थियो ।

जिल्लामा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने सहभागी गाडीधनी हिमाल कुँवरले बताउनुभयो । यस्तो खालका कार्यक्रम समय–समयमा हुनुपर्नेमा उहाँको कथन छ । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले प्रदेश सरकारले सबै जिल्लामा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।
यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्