भेरियन्ट पत्ता लगाउन डोटीको स्वाब काठमाडौंमा



डोटी ।

सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो ।

संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन स्वाब काठमाडौं पठाइएको हो ।

सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमुना संकलन गरिन्छ । सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोजना पुष्टि भएकाहरुको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात् सिक्वेन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाहरुको स्वाब काठमाडौं पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्