पहिरोपीडितलाई राहत वितरण



बैतडी ।

पहिरोमा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत कात्तिक पहिलो साता पहिरोमा परेर मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सुर्नया गाउँपालिकाका एक परिवारलाई गरी ७ लाख नगद राहत वितरण गरिएको हो ।

पहिरोमा परेर शिवनाथमा एकै परिवारका दुईसहित तीन र सुर्नयामा एक जनाको गरी चार जनाको मृत्यु भएको थियो । चारै जनालाई गरेर सरकारको तर्फबाट राहतस्वरूप नगद ७ लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारले प्रत्येक मृतकका परिवारलाई २ लाखका दरले राहत दिने र सोही परिवारका अरू सदस्यको पनि मृत्यु भएमा थप १–१ लाख दिने घोषणा गरेको थियो । शिवनाथ–६ बसेडीका एउटै परिवारका भएकाले ३ लाख र भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको परिवारलाई २ लाख राहत उपलब्ध गराइएको हो ।

यस्तै, सुर्नया गाउँपालिका–५ रामकीबरायलकी परुदेवी महराको परिवारलाई २ लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरु सबैलाई घरमै पुगेर राहत प्रदान गरिएको सूचना अधिकारी भारतीले बताउनुभयो । यसअघि गत महिना शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका बसेडी मृतक परिवारलाई राहतस्वरूप १ लाख ५० हजार रुपियाँ प्रदान गरेको थियो । बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत स्वरूप जनही ५० हजार प्रदान गरेको हो ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण ४ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमालको क्षति भएको छ । जिल्लाका सबै स्थानीय तहमा भएको अन्य क्षतिको विवरण संकलनको काम सकिएकाले राहतका लागि सरकारसँग अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्