ओमिक्रोनबाट बच्न डोटी सावधान



डोटी ।

छिमेकी मुलुक भारतमा केही दिन पहिले देखिएको ओमिक्रोन सङ्क्रमण सोमबार नेपालमा पनि देखिएपछि डोटी जिल्लामा त्यसको रोकथाम तथा सङ्क्रमण हुन नदिन सावधानी अपनाउन थालिएको छ । जिल्ला प्रशासनको निर्देशनमा प्रहरीले यहाँका सार्वजनिक स्थानमा भीड कम गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको टोलीले जिल्लामा ओमिक्रोन सङ्क्रमणबाट जोगिन भीडभाड नगर्न तथा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । विशेष गरी छिमेकी मुलुक भारत तथा देशका अन्य ठाउँबाट डोटी आउने यहाँका नागरिकलाई भीडभाड नगर्न तथा भीडमा नजान र सकभर केही दिन होम क्वारेन्टाइनमा बसिदिन प्रहरी प्रशासनले आग्रह गरेको हो ।

जिल्लामा ओमिक्रोन सङ्क्रमणबाट जोगिन तथा फैलिन नदिनका लागि स्वास्थ्यसम्बन्धी पूर्वतयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले नयाँ भेरियन्ट अर्थात् ओमिक्रोनको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्य सतर्कताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा रख्न निर्देशन दिइएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न पत्राचार गर्न थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्