जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो



बैतडी ।

बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको हो ।

जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा रेफर गर्ने तयारी हुँदै गर्दा सोमबार राति ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनीषा विकको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ । यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । अन्य घाइते पाटन नगरपालिका–१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ ।

जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार थलीमा सोमबार साँझ करिब ६ बजेतिर दुर्घटनामा परेको थियो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार रहेका छन् ।

दुर्घटनाग्रस्त जीप सडकबाट १ सय मिटर तल खसेको थियो । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्