च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल


विजय नेपाली, पोखरा  । 

खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहँदैन । खेल स्तर घट्छ ।

कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारिरीक रूपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेलभनेको सामान्य हुदैँन । त्यहाँ खेलाडीले आफ्नो भएको सम्पूर्ण शक्ति लगाएर खेलेकै हुन्छ । जसका लागि आराम निकै महत्वपूर्ण कुरा हो ।तर, नेपालकी सलोनी तामाङले भने २४ घण्टामा ४ खेल खेलिन् । त्यो पनि २ सेमीफाइनल र ४ फाइनल खेल । महिला खेलाडी लगातार खेल खेल्दै च्याम्पियन बन्न सफल रहिन् । शुक्रबार व्यक्तिगत प्रतिस्पर्धामा भारतसँग भिड्दै फाइनल प्रवेश गरेकी सलोनीले शनिबार व्यक्तिगत प्रतिस्पर्धामा फाइनल खेल । सामूहिक तर्फको सेमिफाइनल र फाइनल खेल खेलिन् । उनले सबै खेलमा जित निकाल्दै उपाधि हात पारिन् ।

उनी जुनिएर आईटीएफ वल्र्ड टेनिस टुरको व्यक्तिगत तथा सामूहिक तर्फ च्याम्पियन बन्न सफल भइन् । व्यक्तिगत महिला प्रतिस्पर्धामा सलोनीले भारतकी हान्नह नागपाललाई हराउँदै स्वर्णपदक हात पारिन् । सनोली सामु नागपाल निहिर बनिन् । सलोनीले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पारिन् । एक समय ५–२ ले पछि परेकी सलोनीले खेलमा एकाएक हाबी हुदैँ उल्टै ७–५ ले जित आफ्नो नाम गराइन् । दोस्रो सेटमा भने नागपालले कुनै अंक जोड्न सकिनन् । दोस्रो सेटमा सलोनीले ६–० को सेटमा हराउँदै स्वर्णपदक आफ्नो पक्षमा पारिन् । नागपालले रजत पदक प्राप्त गरिन् । विजेतासँगै सलोनीले ३० अंक बटुलेकी छिन् । नागपालले भने १८ अंक प्राप्त गरिन् ।

यसअघि शुक्रबार सलोनीले सेमिफाइनल खेलमा भारतकी सुकमणि भण्डारीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् । नागपालले भने सेमिफाइनलमा मेहेर मिश्रलाई हराउँदै फाइनलमा सलोनीसंँग भेट गरेकी थिइन् ।सलोनीले चार खेल खेल्दा निकै थाकेको बताइन । भारतसंग व्यक्तिगत प्रतिस्पर्धामा च्याम्पियन बन्नका लागि खेल्दा नै उनले कम्ब्याक गरेकी थिइन् । ‘हिजो पानी परेर हाम्रो खेल हुन पाएन । हिजो खेल नहुँदा आज खेल्न प¥यो’ सलोनीले भनिन्,‘ आयोजकलाई पनि खेल आजै सक्नुपर्ने बाध्यता थियो । धेरै थकान हुँदाहँुदै पनि जित्नु मेरो लागि महत्वपूर्ण थियो र सफलता पनि पाए ।

उनले फाइनल र सेमिफाइनलमा भारतको सामना गर्नुपरेको थियो । ‘सबै टिम भारतसँगै हारिरहेको थियो । निकै डर लाग्यो तर, आत्मबल हारिन् थकाइको बेवास्ता गरे’ उनले थपिन्, ‘नेपालमा टेनिसको सम्भावना छ । यसको प्रचार–प्रसार हुन सकिरहेको छैन् प्रचार प्रसार भए लोकप्रियता हुन्छ अनि खेलको महत्व अझ बढ्छ ।’उता महिला समूहगततर्फ नेपालकै खेलाडीबिच फाइनलमा भिडन्त भएको थियो । उक्त खेलमा अभिलाषा विष्ट र सलोनी तामाङकै जोडीले ईशाश्री शाह र श्रवणी श्रेष्ठको जोडीलाई हराउँदै स्वर्ण जितेका हुन् । अभिलाषा र सलोनीको जोडीले शनिबार नै भारतकी दिव्या भाटिया र मेहेर मिश्रको जोडीलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

पुरुष व्यक्तिगततर्फ स्विडेनका इमिलियो गिएलोस्कीले स्वर्णपदक हात पारे । उनले भारतका दकस प्रसादलाई ६–२, ५–७ र ७–६ को सेटमा हराउँदै उपाधि चुमेका हुन् । पुरुषतर्फको सामूहिक प्रतिस्पर्धामा अमेरिकाका एमेथ्री बारोट र सिद्धार्थ लामाको जोडीले स्वर्ण जिते ।