नृत्य सूत्र र लिपि सार्वजनिक


नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुलाद्वारा लिखित नृत्य सूत्र तथा लिपि शीर्षकको पुस्तक सार्वजनिक भएको छ।
गत शनिबार राजधानीको लेखनकुञ्जमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुस्तकको लोकार्पण गरे।

समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले शिवराम कासुलाले दुर्लभ काम सम्पन्न गरेको जनाइन्। ‘दुई वर्षअघि हाम्रै संस्थाको नेतृत्वमा यो विषयमा छलफल पनि भएको थियो। त्यतिबेला पनि मलाई उहाँले कठिन मेहनतको काम गर्नुभएछ भन्ने लागेको थियो’ उनले भनिन्, ‘अहिले हेर्दा पनि त्यही लाग्छ। यसले नेपाली नृत्यको अभिलेखीकरणमा मद्दत पुयाउला नै, यो विदेशीका लागि पनि उत्तिकै महत्वपूर्ण दस्तावेज बन्छ भन्ने विश्वास छ।’

हालै नृत्याक्षर विज्ञानबाट जगदम्बाश्री प्राप्त गरेका ९० वर्षीय भैरवबहादुर थापाले कासुलाको कृतिलाई विश्वकै पहिलो भनेर दाबी गरिहाल्न नमिल्ने भए पनि नृत्य विधामा यस्तो किताब आउनु सुखद रहेको बताए। उनले ६१ वर्ष लगाएर आफूले किताब निकालेको जानकारी गराउँदै शिवरामको किताबले नृत्य व्याकरणको कमीलाई पूरा गर्ने विश्वास व्यक्त गरे। लेखक शिवराम कासुलाले भने आफूलाई किताब तयार गर्न ३० वर्ष लागेको जनाउँदै पुस्तकले अभ्यासमा रहेका नृत्यलाई भविष्यका लागि संग्रहित गर्न महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरे। ‘नृत्यको लिपि हुनु आफैंमा ऐतिहासिक कुरा हो। तर कोरियोग्राफी गरेको नृत्यलाई कसरी सूत्रमा राख्नेरु यही प्रयासमा किताबको जन्म भएको हो।

योबाहेक नृत्य साधकका लागि महत्वपूर्ण दस्तावेज बनोस् भन्ने अप्रिप्राय पनि राखेको छु’ उनले भने, ‘यसले लोक, आधुनिक र शास्त्रीय सबै खाले नृत्यलाई सूत्रमा बँँध्ने उपाय बताउँछ। यो किताबबाट भावी पुस्ता लाभान्वित हुने विश्वास लिएको छु।’ प्रमुख अतिथि मन्त्री आलेले विश्वभरि नै पहिचानको लहर चलेको बेलामा नेपालबाट नृत्यको आप्mनै लिपि आविष्कार हुनु र सार्वजनिक हुनु गर्वको विषय रहेको बताए।

‘नेपाल धर्म, संस्कृति र चाडपर्वका कारण विश्व मानचित्रमा छुट्टै देशको रूपमा प्रख्यात छ। यिनै कुरालाई अभिव्यक्त गर्ने गीत र नृत्यको लिपि बन्नु खुसीको कुरा हो। यसलाई अंग्रेजीमा अनुवाद गरेर व्यापक बनाउनुपर्छ’ मन्त्री आलेको भनाइ थियो।

कार्यक्रममा मन्त्री आलेले सातैवटै प्रदेशका संस्कृति समेटिने पुस्तक प्रकाशनका लागि मन्त्रालयबाट पहल गर्ने घोषणा पनि गरेका थिए। समारोहमा पद्मकन्या क्याम्पसका नृत्य विभागका विद्यार्थीले समूहमा दुई थरी नृत्य पनि प्रस्तुत गरेका थिए।