करोडौं लिएर मेनपावर सञ्चालक फरार


कुमार श्रेष्ठ, बाँके ।

नेपालगञ्ज जैसपुरका राजु पठानले क्रोएसिया जानका लागि मेनपावर कम्पनीलाई ७ लाख ७० हजार रूपैयाँ बुझाए । हेलो ह्युमन रिसोर्सेज कम्पनीका मार्केटिङ मेनेजर रविकुमार यादवले तीन महिनाभित्र क्रोएसिया पठाइदिने विश्वास दिलाएपछि पठानले ऋण, सापट गरेर पैसा जुटाएका थिए ।

मेनपावर कम्पनीका मार्केटिङ मेनेजर यादवले तीन महिना भनेको मंसिरको २५ गते पुग्थ्यो । क्रोएसिया जान पाउने भएकाले पठानको ढुकढुकी बढ्दै थियो । आफन्तीहरूमा पठान युरोपको राम्रो देश क्रोएसिया जान थालेको हल्ला फैलिसकेको थियो । शुभकामनाहरू आउन थालिसकेको थियो ।

सबै कुरा सोचेजस्तो कहाँ हुँदोरहेछ र ? जसलाई विश्वास गरिएको थियो, उसले नै धोका दिएपछि । मंसिर १२ गतेदेखि मेनपावर कम्पनीका मार्केटिङ मेनेजर यादव ‘सम्पर्कविहीन’ भएपछि पठान छाँगाबाट खसेजस्तो भएका छन् ।
बाँके जानकीका समसुद्दिन खाँका तीन भाइ पनि क्रोएसिया जाने तयारीमा थिए । समसुद्दिन, निजामुद्दिन र मैनुदिनले जनही ८०-८० हजार रुपैयाँ बुझाएका थिए । कम्पनीले शुरूमा ८० हजार, जाने बेलामा एक लाख २० हजार दिनुपर्ने र पुगिसकेपछि २ लाख ३० हजार दिनुपर्ने भनेको थियो । समसुद्दिनको तीन भाइलाई पनि समयले साथ दिएन, ठग नै मेनपावर परेकाले ।

जानकीकै ओमकार हरिजनले ९५ हजार मेनपावरलाई बुझाएका थिए । मंसिर २० गते उडाउने बताइरहेको मेनपावर कम्पनीका मार्केटिङ मेनेजर यादव १२ गते देखि नै फरार रहेका छन् ।पठान, समसुद्दिनका दाजुभाइ, ओमकारलगायत ४० जना बढी युवा जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर आफूहरू ठगिएको उजुरी गरेका छन् ।

१२ गते नै मेनेजर भागेपछि उनीहरू नेपालगञ्जको न्युरोडमा रहेको मेनपावर कम्पनीको कार्यालयमा गएर त्यहाँ रहेका सबै जनाको पासपोर्ट लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ५० जना बढीको पासपोर्ट बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूले प्रशासन हाताभित्र राखेर आफ्नो पासपोर्ट खोजेका थिए । धेरैजनाले आफ्नो पासपोर्टसमेत फेला पारेनन् । अरू व्यक्तिका पासपोर्ट पनि थिए ।

मेनपावरले कतिपयलाई तीन महिनाभित्र उडान भएन भने आफ्नो पैसा लिनु भनेर चेक पनि दिएको छ । ९५ हजार रुपैयाँ बुझाएका ओमकार १२ गते नै मेनपावर कम्पनीका अधिकारी यादव फरार भएपछि तीनपटक बैंकमा पुगे । चेक साटिएन । ‘बैंकमा तीनपटक गए, ओमकारले भन्नुभयो– ‘बैंकले पैसा छैन भन्दै फिर्ता पठाइरहेको छ ।’

जैसपुरका पठानले बाँकेका तीन सय बढी युवालाई मेनपावरले ठगेको बताउनुभयो । ‘हामी त ठगियौँ । प्रहरीले मेनपावरका मान्छेलाई खोजेर हाम्रो पैसा फिर्ता गराइदिनुप¥यो, पठानले थप्नुभयो, आफन्ती र अरूसँग ऋण र सापट गरेर पैसा बुझाएका थियौ ।’

पीडितले मेनपावरका तीन जना तल्लोस्तरका कर्मचारीलाई समातेर जिल्ला प्रशासन कार्यालय पु¥याएका थिए । ती मध्येका आरिफ खानले कार्यालयका हाकिम यादव कहाँ भन्ने आफूहरूलाई थाहा नभएको बताए ।
जिल्ला प्रशासन कार्यालय पुगेका पीडित र उनीहरूले त्यहाँ देखाएका पासपोर्ट हेर्दा मेनपावर कम्पनीले तीन सय बढीलाई ठगेको देखिन्छ ।

मेनपावर कम्पनीले करोडाै रुपैयाँ ठगेर यादव फरार रहेका छन् । यादव कपिलबस्तुका हुन् कि रूपन्देहीका हुन् यकिन छैन । उनको नागरिकता नै दुईवटा रहेको पाइएको छ । एउटामा रविकुमार यादव बर्गेली रूपन्देही र अर्कोमा सुखनन्दन यादव शिवपुर कपिलवस्तु रहेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मेनपावर कम्पनीको पदाधिकारीको खोजी भइरहेको जानकारी दिनुभयो ।
‘हेलो ह्युमन रिसोर्सेजले धेरै जनालाई विदेश पठाइदिन्छु भनेर पैसा ठगेको पाइएको छ, उसलाई खोज्न मैले प्रहरीलाई निर्देशन दिइसकेको छु, प्रजिअ खत्रीले भन्नुभयो–‘उसलाई समातेर ल्याएपछि कति जना ठगिएका छन् । पत्ता लाग्छ ।’