कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते


काठमाडौं, (नेस)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते हुने जनाएको छ । बोर्डले सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । मापदण्ड पूरा गरेका परीक्षार्थीहरूले मात्र बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने गरेको छ ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नुपर्ने उल्लेख छ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनुपर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । फारम २६ गते सम्ममा बोर्डका कार्यालयहरूमा बुझाउनु पर्नेछ ।

अन्य सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुईमध्ये कुनै एक विषयमा ग्रेडवृद्धि परीक्षा दिनसक्ने उल्लेख छ ।अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वद्धि परीक्षा दिनसक्ने पनि सूचनामा जनाइएको छ ।