नेकपा एमाले महाधिवेशन, नेताहरू चितवन आउन शुरू


दुर्गाप्रसाद शर्मा, चितवन ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन हुनुभन्दा दुई दिनअघि नै शीर्ष नेताहरूका साथै प्रतिनिधि र एमालेका कार्यकर्ता चितवन आउने क्रम बाक्लिएको हो ।

तयारीका क्रममा बुधबार दिउँसो महधिवेशनका लागि मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ‘बादल’, सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डे र पार्टीका वागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल चितवन आइपुग्नुभएको छ ।

महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै सचिव भट्टराईले मञ्च व्यवस्थापन, स्वागतद्वार, आवास, बन्दसत्रस्थल निर्माणलगायतका काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ५ लाखको सहभागितामा उद्घाटन सत्र गर्ने तयारी भए पनि पछिल्लो तयारी र देशभर देखिएको उत्साहले सहभागिता संख्या त्योभन्दा बढी हुने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो– ‘समग्रमा अधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको छ । देशभरबाट ५ लाख सहभागिता गराउने अपेक्षा गरेकोमा अहिले त्योभन्दा पनि बढी सहभागिता हुने अनुमान भएको छ ।’

महाधिबेशन तयारीका क्रममा मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले चितवन र नवलपरासी सुस्तापूर्वका सुरक्षा प्रमुखहरूसँग सुरक्षा अवस्थाका बारेमा अधिवेशन उद्घाटनस्थलमा छलफल गर्नुभयो । दुवै जिल्लाका सुरक्षा प्रमुखले सुरक्षाका तयारीमा बारेमा सहसंयोजक पाण्डेलाई जानकारी गराउनुभयो । उहाँहरूले त्रुटिरहित हिसावले सुरक्षाको तयारी भएको जानकारी गराउनुभएको थियो । पाण्डेले थप सुरक्षा आवश्यक परेमा त्यसको प्रबन्ध गर्न पनि आग्रह गर्नुभयो ।

महाधिवेशनका लागि मुख्य आकर्षणका रूपमा रहेको मञ्च निर्माणको काम ७५ प्रतिशत सकिएको स्वयंसेवक व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले बताउनुभयो । बेसमेन्ट तयार भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अब डेकोरेसनको काम मात्रै बाँकी छ ।’

महाधिवेशन उद्घाटनस्थल वरपर आकर्षक हिसावले सजावटका काम पनि भइरहेको छ । नारायणीको पुलमा नारा अंकित आकर्षक नाराहरूले सजाइएको छ भने नारायणी नदीपारि गैंडाकोट क्षेत्रमा पनि ठूल्ठूला होर्डिङ बोर्ड राखेर थप सुन्दर बनाउने काम भएको छ । उद्घाटनस्थलको नारायणी नदीकिनारमा एक किलोमिटर भन्दा बढी क्षेत्रमा तारबार गर्ने तयारी समेत भएको छ ।

उद्घाटनमा आउने सहभागीहरू नदीमा पुगेर दुर्घटना नहोस् भन्ने उद्देश्यले तारबार गर्न थालिएको संयोजक श्रेष्ठले बताउनुभयो । उद्घाटनस्थल र बजार क्षेत्रमा समेत गरी एक दर्जन डिस्प्लेमार्फत कार्यक्रम देखाउन टेक्निकल टिमले काम गरिरहेको छ । टिमको रिर्पोटअनुसार बजारका मुख्य चोकहरूमा समेत डिस्प्लेमार्फत उद्घाटन सत्र प्रत्यक्ष देखाउने तयारी पनि भइरहेको छ । उहाँको अनुसार मञ्च ब्यबस्थापनका लागि कामदार र स्वयंसेवक गरी २ सय जना बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म निरन्तर खटिरहेका छन् ।

भीआईपीलाई ‘क’ वर्गको एम्बुलेन्स

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्रमा पार्टी अध्यक्षलगायत विशिष्ट वर्गका लागि ‘क’ वर्गको सुविधासहितको एम्बुलेन्स परिचालन गरिने भएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा विशिष्ट वर्गलाई लक्षित गर्दै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताउनुभयो ।

मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले बताउनुभयो । बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा ‘क’ वर्गको परिचालन हुने बताउँदै पौडेलले थप चारवटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने जानकारी दिनुभयो । पौडेलले भन्नुभयो– ‘मञ्चमा हुने विशिष्ट व्यक्तिहरूका लागि लक्षित गर्दै स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको ‘क’ वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ‘ख’ वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राख्छौं । उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिनेछ ।”

‘क’ वर्गको एम्बुलेन्समा भेन्टिलेटरबाहेक मोनिटरसहित आईसीयूको सुविधा उपलब्ध हुनेछ । त्यसमा दक्ष स्वास्थ्यकर्मी समेत राखिने छ । महाधिवेशन प्रतिनिधिहरू बिरामी परेको अवस्थामा उनीहरू बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पु-याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राखिने जानकारी दिँदै पौडेलले भन्नुभयो– ‘सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्करूपमा एम्बुलेन्स सञ्चालन गर्दै छौं ।’

उद्घाटनका लागि सहभागी हुने प्रत्येक ¥यालीमा पनि एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट शुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताउनुभयो । नवलपुरको गैंडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक र त्रिचोकसहितबाट निस्किने ¥यालीसँगै एम्बुलेन्स पनि रहने उहाँले बताउनुभयो । एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरू परिचालन हुने बताइएको छ ।