मतदाता नामावली संकलन मंसिर १७ बाट


नेपाल समाचारपत्र, काठमाडौं ।

निर्वाचन आयोगले प्रत्येक स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्ने कार्य यही मंसिर १७ गतेदेखि शुरु गर्ने भएको छ ।
२०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र संघ र प्रदेशको अद्यावधिक निर्वाचन गर्न एक वर्षमात्र बाँकी रहेको स्थितिलाई ध्यानमा राखेर आयोगले अभियानअन्तर्गत सो काम शुरु गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई–मधेस, भित्री मधेस तथा काठमाडौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ । प्रवक्ता पौडेलका अनुसार नामावली संकलनको काम हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुनेछ । प्रवक्ता शर्माले भन्नुभयो– ‘सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न आग्रह गरेका छौं ।’

सो कामका लागि देशभर करिव २ हजार ३ सय कर्मचारी प्रत्यक्षरूपमा खटाइने भएको छ । पुस २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन गरिसक्नुपर्ने छ । सो अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन गर्ने काम हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गरिने भएको छ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने साविकको व्यवस्था हुँदाहुँदै विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा जिल्लाबाहिर रहेका नागरिकहरूलाई समेत सहजरूपमा मतदाता दर्ता प्रक्रियामा सहभागी गराउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम उसको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै उसको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।

२०७७ पुस ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेको छ । यस कार्यक्रमबाट देशभर करिव १० लाख मतदाता थप हुने अनुमान गरिएको छ ।