महाधिवेशन प्रतिनिधिमा देउवा–पौडेल पक्षको आ–आफ्नै दाबी


रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सबै नेताहरूको विशेष चासो रहेको १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये बुधबार साँझसम्म १ सय २२ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको ३५ जिल्लामध्ये ३२ जिल्लामा जिल्ला अधिवेशनसम्म सकिएको छ । २ देखि १० वटा निर्वाचन क्षेत्र रहेको ४२ जिल्लामध्ये ३१ वटा जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्ला रसुवा, धनकुटा र दार्चुलामा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिले जानकारी दिएअनुसार बर्दियामा आज बिहीबार क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढ्दै छ भने सप्तरीको प्रदेश अधिवेशनको प्रक्रिया पनि आज बिहीबार नै अघि बढ्दै छ । सिन्धुपाल्चोकको पनि प्रदेश अधिवेशन शुरू भएको छ भने सिराहा जिल्लामा पालिका अधिवेशनको प्रक्रिया अघि बढ्दै छ । धनुषा जिल्लामा पनि आज बिहीबारदेखि प्रदेश अधिवेशन शुरु हुँदै छ । महोत्तरी जिल्लामा क्षेत्र नम्बर ३ बाहेक अन्य क्षेत्रमा अधिवेशन प्रक्रिया शुरु भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार सर्लाहीमा बुधबार जिल्ला निर्वाचन अधिकृत खटाइएको छ । यहाँ पनि अधिवेशन प्रक्रिया अघि बढ्ने बताइएको छ । रौतहट जिल्लामा क्षेत्र नम्बर १ को अधिवेशन सकिएको छ भने अन्य क्षेत्रको अधिवेशन प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा पालिका अधिवेशन प्रक्रिया अघि बढिरहेको छ ।

केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि क्षेत्रीय अधिवेशनबाट चुनिएर आउने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई विशेष चासोका साथ हेरिने गरिएको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय २२ निर्वाचन क्षेत्रको नतिजा आएसँगै कांग्रेस नेताहरू गुटगतरूपमा महाधिवेशन प्रतिनिधिको जोड घटाउ गर्न थालेका छन् । केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित कांग्रेस अधिवेशनमा गाउँ तहदेखि जिल्ला तहसम्मको अधिवेशनमा अधिकांश प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै महाधिवेशन प्रतिनिधिहरूको जोड–घटाउमा एकले अर्कोलाई कमजोर देखाउँदै नेतृत्वका दाबेदार नेताहरूको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरबहादुर देउवा र सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली कांग्रेस सूचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको भन्दै भ्रमपूर्ण समाचारहरू सार्वजनिक गरिरहेका छन् ।

एउटाले प्रारम्भिक नतिजा देउवाको पक्षमा र अर्कोले प्रारम्भिक नतिजा पौडेलको पक्षमा भन्दै सचिवालयको हवला दिँदै सार्वजनिक गरिएको समाचारमा एक पक्षले अर्को पक्षलाई निकै कमजोर देखाएको छ ।पौडेल पक्षीय सचिवालयले हालसम्मको नतिजामा आफ्नो पक्षको ६० प्रतिशत र देउवा पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ । देउवा सचिवालयले यसको ठीक उल्टो आफ्नो पक्षमा ६० पौडेलको पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ ।

आसन्न महाधिवेशनमा नेतृत्व दावी गरिरहेका पौडेलको सचिवालयले संस्थापनइतर पक्ष एक नभए नेतृत्व देउवाको पक्षमा जाने स्वीकारेको छ । ‘रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच आपसमा एकता कायम हुँदा ६० प्रतिशत शक्ति आर्जन गर्ने देखिएको छ ।’ हाम्रो टिमको कूल शक्ति ६० प्रतिशत देखिएको छ भन्दै पौडेलको सचिवालयले भनेको छ– ‘आन्तरिक एकता कायम गरेर साझा उम्मेदवार दिन सक्यौ भने जुनसुकै अवस्थामा केन्द्रीय महाधिवेशन जित्छौं ।’

देउवाको सचिवालयले तयार पारेको विवरणअनुसार भने महाधिवेशन प्रतिनिधिको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । यसपटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण गर्दै देउवा सचिवालयले भनेको छ–‘पौडेल पक्ष भनिएका डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच एकता भए पनि त्यो पक्षको ४५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि हुँदैन ।’