स्वास्थ्यमन्त्रीको निर्देशनपछि श्यामलालको उपचार वीर अस्पतालमा सुरु


काठमाडौं । पेटमा पानी भरिने समस्याबाट १३ वर्षदेखि ग्रसित श्यामलाल सार्की नेपालीको उपचार वीर अस्पतालमा सुरु भएको छ । विभिन्न सञ्चारमाध्यममा नेपालीको समाचार आएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनमा ४९ वर्षीय नेपालीलाई वीर अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको हो ।

एसाइटिस नामक सो रोगका कारण सन्धिखर्क नगरपालिका–९ नौलापानीका नेपाली हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा थिए । विपन्न, गरिब र दलित परिवारमा जन्मिएका नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्डअन्तर्गत बेड नं १२३ मा उपचार भइरहेको छ ।

मन्त्री खतिवडाको सचिवालयको नियमित चासो तथा पहरेदारीमा अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निःशुल्क हुने गरी उनको उपचार भइरहेको छ । मन्त्री खतिवडाका प्रेस सल्लाहकार सन्तराम बिडारीका अनुसार विरामीको अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायतका परीक्षण भइसकेको छ ।

कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भइरहेको छ । सो पानीसमेत परीक्षणका लागि दिइएको र रिपोर्ट बिहीबार मात्र आउने अस्पतालले जनाएको छ । उक्त रिपोर्ट आएपछि कसरी उपचार गर्ने भन्नेबारेमा चिकित्सक निष्कर्षमा पुग्ने बताइएको छ ।

बिरामीलाई भर्ना गरेर उपचार थालिएको र अस्पतालमा उपलब्ध भएजतिका औषधि, खानालगायत अन्य व्यवस्था गरिएको र बाहिर किन्नुपर्ने औषधि खर्चका लागि पनि अभियानकर्मीले सहयोग अभियान चलाएका जनाइएको छ ।