नेपाल र भारतबीच खोपको प्रमाणपत्रलाई मान्यता प्रदान

दुवै देशका नागरिकलाई आवतजावतमा सहजता


नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै कठीनाई नहोस् भनेर नेपाल र भारतबीच कोभिड–१९ खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सहमतिअनुसार नेपालमा खोप लगाएको व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिनेछ ।

यसले यी दुईमध्ये कुनै एक देशमा खोप लगाएको व्यक्तिले निर्धक्कसँग अर्को देशमा आवतजावत गर्न पाईने भएको छ । समझदारीमा हस्ताक्षर गरेपछि सचिव डा. पोखरेलले अब दुबै देशका खोप लगाएका नागरिकलाई आवतजावतमा सहज हुने बताउनुभयो ।

भारतीय दूताबासका प्रेस, सूचना तथा संस्कृति विभागका प्रथम सचिव नविन कुमारले भारतले पहिलोपल्ट यस्तो समझदारी नेपालसँग गरेको जानकारी दिंदै विस्तारै अन्य देशहरूसँग पनि भारतले यस्तो सम्झौता गर्दै जाने बताउनुभयो ।

उहाँले सम्झौताअनुसार नेपालमा प्रयोग भएका कुनै पनि देशको कोरोना संक्रमणविरुद्धको खोपको प्रमाणपत्रलाई भारतले मान्यता दिने बताउनुभयो । नेपालमा भारतमा बनेको कोभिशिल्डका साथै अमेरिकामा बनेको जोनसन एण्ड जोनसन, चीनको भेरोसेल र जापानबाट प्राप्त भएको एस्ट्राजेनेका खोप प्रयोगमा छ ।