नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह


विमल विष्ट, काठमाडौँ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन आग्रह गर्नु भएको छ । युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मङगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गर्नु भएको हो ।

मन्त्री आलेको आग्रह पछि निर्देशक पम्पो िलनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।” उक्त छलफलका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो ।

नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँहरू काठमाडौँमा हुनुहुन्छ ।

उक्त छलफल तथा भेटवार्तामा युरोपेली संघका तर्फबाट राजनीतिक शाखा प्रमुख स्टेफेन नेकोन, डेस्क अधिकृत जान होम्कोफ तथा शाखाका उप प्रमुख इभो स्चुट रहनु भएको थिए भने नेपालका तर्फबाट नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, हवाई सुरक्षा विभागका निर्देशक राजु श्रेष्ठ, मन्त्रालयका सह सचिव टोकराज पाण्डेय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।