विश्वविद्यालय अनुदान आयोगको २८ औँ वार्षिकोत्सव 

14
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । 

विश्वविद्यालय अनुदान आयोगको २८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सानोठिमीमा आज आयोजित कार्यक्रममा सरकारको लगानी अनुसारको प्रतिफल नआएको सरोकारवालाले बताएका छन् ।  शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षामा सरकारले गरेको लगानी अनुसारको प्रतिफल पाउन नसकेको बताउनु भयो ।

उहाँले शिक्षामा संरचनात्मक ढङ्गले विकास भएको, लगानी पनि बढेको तर शिक्षाको गुणस्तर र प्रगतिमा भने प्रभावकारी प्रतिफल हासिल गर्न नसकेको बताउनु भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्प रमण वाग्लेले देशमा रहेका ११ वटा विश्व विद्यालय र ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति र लक्ष्य हासिल भयो कि भएन भनेर मूल्याङ्कन गर्ने बेला आएको बतााउनुभयो ।

आयोगका पूर्वअध्यक्ष प्रा.कृष्णबहादुर थापाले शिक्षामा सङ्ख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक वृद्धि आवश्यक रहेको औल्याउदै आवश्यकताका आधारमा भन्दा पनि राजनीतिक आधारमा संस्थाको भूमिका निर्वाह हुन नहुने बताउनु भयो ।
आयोगका अर्का पूर्वअध्यक्ष प्रा.डा. विदुरप्रसाद उपाध्यायले त्रिभुवन विश्वविद्यालयदेखि आङ्गिक क्याम्पससम्मको गुणस्तरीयता खस्किदा र त्रि–चन्द्र क्याम्पसको जीर्ण भवनले गिज्याई रहेको टिप्पणी गर्नुभयो ।

आयोगका पूर्वअध्यक्ष प्रा.डा. कमलकृष्ण जोशीले विश्वविद्यालयले नयाँ संरचनाको व्यवस्था गर्दै सोही अनुरूपको जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले सरकारले अघि सारेको गरेको उच्च शिक्षा नीतिको अवलम्बन गर्दै आयोगले गुणस्तर सुनिश्चितताका लागि पहल गरिरहेको बताउनुभयो । आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीले आयोगको २८ औँ वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस अवसरमा आयोगका उत्कृष्ट कर्मचारीहरू प्रशासन तर्फका देवेन्द्र रावल, प्रनिता उपाध्याय, चालक केशवप्रसाद रिजाललाई आयोगका अध्यक्ष सुवेदीले जनही रु. पाँच हजार पुरस्कारसहित सम्मान गर्नु भयो । आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारीलाई पनि पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।