कला, संस्कृति तथा संगीत क्षेत्रको विकासमा सहयोग गर्छु : मन्त्री आले


विमल विष्ट, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत संगीत बिना मान्छेको जीवन अधुरो हुने बताउनु भएको छ । राष्ट्रिय संगीत कर्मी संघले आज शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले गीत संगीत बिना मान्छेको जीवन अधुरो हुने भएकाले काला, संस्कृति तथा संगीत क्षेत्रको विकासका लागि आवश्यक पर्ने सहयोगका लागि आफू तयार रहेको बताउनु भएको हो ।

सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री आलेले संगीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेट समेत विनियोजन गराउने आश्वासन समेत दिनुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृति र गीत संगीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गीत संगीतको विकासका लागि मैले बजेट विनियोजन गराउछु ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भासाभासीका कला, संस्कृति र गीत संगीत देश विदेशसम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा संगीतकर्मीहरूसँग आग्रह समेत गर्नुभयो ।

संगीत विना अधिकांश काम तथा कलाहरू अधुरा हुने भएकाले संगीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, “संगीत बिना अधिकांश काम तथा कलाहरू अधुरा हुने भएकाले संगीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा संगीत कर्मी संघले मन्त्री आलेलाई सम्मान समेत गरेको थियो ।