विद्यालयको भवन भासिएपछि खेतमै पठनपाठन

0
Shares

ललित सिंह, बझाङ ।

भइरहेको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ।

अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ। विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए। उक्त विद्यालय २०५४ मा स्थापना भएको हो। हाल विद्यालयमा छात्रछात्रा गरी १७४ विद्यार्थी अध्ययनरत छन्।

“पठनपाठन बन्द गर्नुपर्ने अवस्था आयो, पढाइको वैकल्पिक उपायका लागि जिल्ला रेडक्रस सोसाइटीसँग त्रिपाल माग्न चैनपुर गए”, प्रधानाध्यापक जोशीले भने, “रेडक्रसका पदाधिकारीले त्रिपाल दिन सकिँदैन भन्नुभयो, रित्तै फर्किए।” विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ। विद्यार्थी खुला रूपमा शौच गर्दै आएका छन्।

जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गरिने बताए। नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनविज्ञ छन्। बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तड छान्ना गाउँपालिकामा–१ खाती गाउँस्थित जगदम्बा निमाविको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुल्ला चौरमा गर्नु परिरहेको छ।

प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १६० विद्यार्थी चौरमा पढ्ने गरेका छन्। “घाम लागेका बेला मात्र नियमित पढाइ हुन्छ”, उनले भने, “घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ।” वर्षाका कारण बाढी पहिरोले जिल्लाभरि ६५ विद्यालयमा आंशिक क्षति भएको छ। दुई विद्यालयमा पूर्णरुपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिए। भौतिक संरचनातर्फ १० करोड ८१ लाख बराबरको क्षति भएको छ।