विप्रेषणलाई दीर्घकालीन हितका लागि उपयोग गर्न आग्रह

0
Shares

काठमाडौँ ।

दोलखाको वैतेश्वर गाउँपालिका–३ मैनापोखरीका जीवेश दाहाल संयुक्त अरब इमिरेटमा काम गर्नुहुन्छ । देशभित्र रोजगारीको अवसर नपाएपछि विदेशिनु भएका दाहालले आईएमई मार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाउनुभयो ।

उहाँका लागि यो नियमित प्रक्रिया जस्तै थियो । दुःख गरेर कमाएको पैसा सहजै घर परिवारमा पुगोस् भन्ने मात्रै चाहना थियो । आईएमईले हरेक वर्षजस्तै यसवर्षको चाडपर्वका अवसरमा समेत ‘आईएमई डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । सोही क्रममा आज आईएमईले प्रविधिमा आधारित ‘लक्की ड्र’ ग¥यो । त्यसमा सार्वजनिक गरिएको नतिजाअनुसार आईएमईका सेवाग्राही दाहाल विजेता छनोट हुनुभयो ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तगा ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गर्नुभएको थियो । बम्पर पुरस्कारमा दाहालले पठाएको रकमको आठ गुणा बढी प्राप्त गर्नुभएको छ । त्यो भनेको रु १२ लाख ५२ हजार बराबरको रकम रहेको आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिनुभयो ।

बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताउनुभयो । उहाँका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष ढकालले विप्रेषणलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । उहाँले अहिले विप्रेषणको अधिकांश हिस्सा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै त्यसलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

“आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,” उहाँले भन्नुभयो ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणका समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको जानकारी दिनुभयो ।