किसानले आफ्ना उत्पादनको मूल्य निर्धारण गर्न पाउनुपर्छ : मन्त्री यादव

0
Shares

काठमाडौँ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले उत्पादनको मूल्य किसान आफैँले निर्धारण गर्न पाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १७औँ राष्ट्रिय कफी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कृषकले वस्तुको गुणस्तर र लागतका आधारमा मूल्य तोकेमा कृषि क्षेत्रमा विचौलियाको भूमिका गौण बन्ने बताउनुभयो ।

उहाँले कफी उत्पादनमा राम्रो सम्भावना रहेकाले कृषकलाई त्यसतर्फ आकर्षित गर्न सरकारले ठूला साना व्यवसायीलाई समानरुपमा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषकका क्षति भएका बालीमा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीयतह, प्रदेश र सरकोर पक्षसँग समन्वय भइरहेको बताउँदै उहाँले कृषि बालीमा सुरक्षाको लागि बिमा गर्न आवश्यक रहेको भए पनि त्यस क्षेत्रमा बिमा कम्पनी पछि हटेकाले गाउँपालिकाबाट नै समन्वय गर्न खाँचो रहेको बताउनुभयो ।

कफी व्यवसायमा संलग्न विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।