सुदूरपश्चिमलाई थप चिनाउन धार्मिक, पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी : अध्यक्ष नेपाल


विमल विष्ट, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमलाई देश विदेशमा चिनाउन यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी रहेको बताउनु भएको छ ।

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदार मेलामा सहभागी हुनका लागि आज बुधबार यहाँ आउनु भएका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न र देश बिदेमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम धार्मिक, पर्यटकीय क्षेत्र सहित कला संस्कृतिले धनी प्रदेश हो, यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचार प्रसार सहित संरक्षण गर्न अति जरुरी छ ।” यसै गरी उहाँले डोटीमा हिन्दु धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रहरूको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय सङ्ग्रहालय बनाउनु पर्नेमा पनि जोड दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेला सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको दुखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको थिए, पछि कसैले बनाउनु भएन । अव चाँडै धार्मिक सङ्ग्रहालय निर्माण गर्ने कार्यले सफलता पाओस् ।”सोही कार्यक्रममा बोल्नु हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुराना धार्मिक कला, संस्कृर्तिहरुको जगेर्ना गर्नु पर्ने बताउनुभयो ।

“नयाँ पिँढीलाई जानकारी होस भन्नका लागि र आफ्नो संस्कृति जोगाइ राख्न र चिनाउनका लागि भए पनि पुराना धार्मिक कला, संस्कृर्तिहरुको जगेर्ना गर्नु आवश्यक छ मन्त्री आलेले भन्नुभयो, “धार्मिक कला, संस्कृर्तिको जगेर्ना गर्न मेरो मन्त्रालयले पूर्ण सहयोग गर्ने छ ।” यसै गरी मन्त्री आलेले डोटीको प्रसिद्ध मन्दिर शैलेश्वरी तथा बडिकेदार लगायतका क्षेत्रको विकास तथा स्तरोन्नतिका लागि थप पहल गर्नुका साथै आवश्यक बजेट समेत विनियोजन गरिने बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न सके हामी थुप्रै पर्यटक भित्राउन सक्छौँैँ, अब सबै ठाउँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिने छ ।” सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहार पछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ ।

बडिकेदारको ढुङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रूपमा बिकट अर्थात् भिरको बिचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाति भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ ।

प्राय जसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुषहरू पुत्र लाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजनहरू आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।