एमालेको सक्रियता



बहुदलीय प्रजातान्त्रिक मुलुकमा दलको सक्रियता सकारात्मक संकेत मानिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकै दिन देशभर पार्टीको वडा अधिवेशन गरेर सांगठनिक सक्रियता देखाएको छ । दुई तिहाई नजिकको सरकारबाट बाहिरिएसँगै पार्टी विभाजनको मारमा परेको एमालेले देशभरका कार्यकर्तालाई एकैपटक जागरुक गराउनका लागि देशभर पार्टीको निर्वाचनको माहोल सिर्जना गरेको छ । पार्टी विभाजनपछि पनि पार्टीका नेताहरूमा असन्तुष्टि भने अझै कायमै रहेका बेला देशभर शनिबार भएको वडा अधिवेशनले भने एमाले कार्यकर्तामा उत्साह जगाएको हुनुपर्छ भन्ने विश्वास लिनु अन्यथा हुनेछैन ।

पार्टी अध्यक्ष केपी ओलीले देशभर भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्दै देशभरका कार्यकर्तालाई विपक्षीविरुद्ध एक भएर जुट्नसमेत निर्देशन दिएको समाचार बाहिर आएको छ । वास्तवमा हामीकहाँ कुनै दल वा व्यक्ति विपक्षी नभएर गरिबी, बेरोजगारी, रोग, भ्रष्टाचार आदि विपक्षी हुनुपर्ने हो, तर अध्यक्ष ओलीका लागि अहिले पाँच दलीय गठबन्धन दुस्मन बनेको छ, गठबन्धनलाई चिर्न हरेक एमाले कार्यकर्ता एक हुनुपर्ने निर्देशन उहाँको छ । विपक्षी दलप्रति सधैं धारिलो तरबार चलाउने ओलीले पार्टीभित्रको अन्तरविरोधलाई भने सम्बोधन गरेको देखिएन । यसले गर्दा पार्टीमा असन्तुष्ट रहेका नेताहरूमा भने थप निराशा छाएको देखिन्छ । पार्टी विभाजनको पीडालाई बिर्सन पनि अध्यक्ष ओलीले जुन उदारता देखाउनुपर्ने थियो त्यो भने देखाएको पाइएन । यसले नजिकिँदो निर्वाचनमा भने पार्टीले नराम्रो हार बेहोर्ने हो कि भन्ने चिन्ता त्यस दलका नेता तथा कार्यकर्तामा अझै रहेको छ । अध्यक्ष ओलीले नेता–कार्यकर्तालाई पेलेर, ठेलेर र जनतालाई ढाँटेर यहाँसम्मको यात्रा तय गरेका हुन् । रेल र पानीजहाज ढाँटका विषय थिए, जनताले उनलाई दुईतिहाइनिकट पु¥याएपछि मात्र ठगिएको चाल पाएका हुन् । पार्टीभित्रको असन्तुष्ट समूहलाई समेटेर अघि बढ्नुको विकल्प देखिँदैन, तर यस यथार्थलाई ओलीले कहिले बुझ्ने संकेत देखिएन । विभिन्न समूहबाट एमाले प्रवेश गरेका नेता–कार्यकर्तालाई काखी च्याप्ने तर लामो समयदेखि पार्टीमा संघर्ष गरेर यहाँसम्म आइपुगेका नेता तथा कार्यकर्तालाई भने पाखा लगाउने प्रवृत्ति ठीक होइन । पार्टीमा योगदान गरेका नेता तथा कार्यकर्तालाई उचित स्थान दिएर नव प्रवेशीहरूलाई समेत मिलाएर लैजानुपर्ने अभिभारा बोकेका अध्यक्ष ओलीले हिजोको जस्तै कार्यशैली अपनाउने हो भने यसले कालान्तरमा पार्टीलाई असर पार्छ नै । अध्यक्ष ओलीले आफूभित्र रहेको दम्भलाई हटाउन नसक्नु एमालेका लागि ठूलो दुर्भाग्य हो ।

कम्युनिस्ट भनिने पार्टीहरूभित्र अवसरवादीहरूको ‘कम्युन’ मौलाएको छ, जसरी पनि कुर्सी हत्याउने चिन्तन फैलिएको छ । यस चिन्तनलाई तोड्दै पार्टीलाई एकताबद्ध बनाएर नलैजाने हो भने आउँदो चुनावमा एमालेको लज्जाजनक हार हुनसक्छ । चौतर्फी घेरामा पर्दै गएको एमालेलाई हारको मुखबाट बचाउने हो भने अध्यक्ष ओलीले त्याग देखाउने बेला आइसकेको छ । पार्टी विभाजनको बेला एमालेलाई साथ दिएका १० नेतालाई अझै पनि जिम्मेवारी दिन हिचकिचाउने ओलीको शैलीलाई आम कार्यकर्ताले पनि मन पराएका छैनन् । यसतर्फ अध्यक्ष ओलीको ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्