बीआरआई कार्यान्वयनमा लानुअघि पर्याप्त छलफल गर्न पूर्व परराष्ट्रमन्त्री डा. महतको आग्रह



काठमाडौं । 

पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ बीआरआईको डकुमेन्टमा थुप्रै समस्याहरु रहेको जिकिर गर्दै त्यसअन्तर्गतका परियोजना कार्यान्वयनमा ल्याउनुअघि पर्याप्त गृहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सेसिफ) ले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री महतले भने–‘बीआरआईको डकुमेन्टमा थुप्रै समस्याहरु थिएँ । स्वतन्त्र व्यापार, चिनियाँ मुद्राको प्रयोग जस्ता प्रस्तावहरुलाई चिनियाँ पक्षसँग वार्ता गरेर संशोधन गर्यौं । म बीआरआई बिरोधी होइन, तर अझै पनि परियोजनाहरु निर्माण गर्न हामी महँगो व्यवसायिक ऋण लिनसक्ने अवस्थामा छैनौं ।

’ उनले सन् २०१७ मा चिनियाँसँग बीआरआई सम्झौता गर्न आफूलाई कठीन भएको र लामो समय लागेको स्मरण गर्दै बैदेशिक विकास र आर्थिक सहयोग खोज्ने र स्वीकार गर्ने क्रममा नेपालले विगतमा थुप्प्रै गल्तीहरु गरेको बताए । कुनै राष्ट्र हामीसँग चिढिन्छ कि भनेर आफ्नो देशको हितलाई नजरअन्दाज गर्न नमिल्ने जिकिर गर्दै डा. महतले भने– ‘द्धिपक्षीय होस् वा बहुपक्षीय आर्थिक सहयोग, हामी पर्याप्त गृहकार्य गदैनौं । हामीले सबै राष्ट्रसँग एउटै मापदण्ड अपनाउनुपर्छ ।’

उहाँले अर्बौं डलर लाग्ने नेपाल–चीन रेलमार्ग निर्माणको औचित्यमाथि प्रश्न उठाउँदै भने– ‘उक्त रेलमार्गलाई भारतसँग नजोडेसम्म रेलमार्गबाट आम्दानी त के निर्माण खर्च पनि उठाउन सक्दैनौं । भारतलाई जोडेर भारत र चीनको व्यापार बढाउने हो भने त्यसका लागि नेपालले किन ऋण लिने? यदि भारत र चीनले लगानी गर्छ भने त्यसमा कुनै आपत्ति छैन । ’

सोही कार्यक्रममा बोल्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवले बीआरआई कार्यान्वयनमा जानुअघि त्यसको बारेमा संसदमा व्यापक छलफल हुनुपर्ने आवश्यक्ता औंल्याए । उनले बीआरआई सम्झौता र त्यसको कार्यान्वयनको अवस्थाबारे संसदलाई जानकारी दिनुपर्ने र त्यसअन्तर्गतका परियोजनाहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा संसदीय समितिमा छलफल हुनुपर्ने धारणा पनि राखे ।

सेसिफका कार्यकारी अध्यक्ष एवं पूर्व राजदूत विजयकान्त कर्णले नेपालले बीआरआईअन्तर्गतको परियोजनाहरु कार्यान्वयन गर्नुअघि बीआरआई परियोजना कार्यान्वयन गरिसकेका छिमेकी राष्ट्रहरुको अनुभवको बारेमा गहन अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले एउटै वित्तिय र कार्यान्वयन मोडालिटी फरक प्रकृतिका परियोजनाहरुमा उपयुक्त नहुने भन्दै परियोजना, त्यसको वित्तिय व्यवस्थापन र कार्यान्वयनको मोडालिटीमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा अर्थशास्त्री तथा अक्सफोर्ड ग्लोबल सोसाइटी कोलोम्बो, श्रीलंकाका फेलो तलाल रफिले श्रीलंकामा बीआरआई अनुभव, बंगलादेशको जहाँगिरनगर विश्वविद्यालयका सहप्राध्यापक मोस्ताकिम बिन मोताहेर बंगलादेशको अनुभव, सीसेपका सिनियर फेलो भारतका डा. कन्स्टान्टिनो जेभिएरले बीआरआईप्रति भारतको अनिच्छा विषयमा चर्चापरिचर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्