कवाडी बन्दै करोडौंका सवारी


हेटौंडा, नेस । 

हेटौंडास्थित मकवानपुर जिल्ला प्रहरी कार्यालय परिसरमा करोडौं मूल्यका सवारी साधन खिया लागेर बसेका छन् । लागुऔषध ओसारपसार, गम्भीर प्रकृतिका घटनामा संलग्न तथा चोरीका ती सवारी साधन सम्बन्धित मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रहरीकै नियन्त्रणमा रहने र लिलाम सकार्नेहरु नआउँदा ती सवारी साधन कामै नलाग्ने अवस्थामा पुगेका देखिन्छन् ।

कतिपय सवारीसाधनबारेको मुद्दाको किनारा लागिसक्दा पनि समयमै लिलाम हुन नसक्दा तथा कतिपय सवारीधनी समयमै लिन नआउँदा प्रहरी कार्यालयमै थन्किने गरेका छन् । प्रहरी कार्यालयमा रहेका सवारी साधनमध्ये कतिपय भारतीय नम्बरका समेत छन् ।त्यस्ता सवारीसाधनले भरिभराउ हेटौंडा–९ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक सेरप तामाङका अनुसार हाइवेको युनिट भएका कारण दुर्घटना बढी हुने र लागुऔषधसहित गाडी नियन्त्रणमा लिने गरिएको छ । कार्यालयमा लागुऔषधसहित नियन्त्रणमा लिइएका गाडी करिब ९० प्रतिशत रहेको उहाँको अनुमान छ ।

मकवानपुरका प्रहरी एकाईमा नियन्त्रणमा रहेका ठूलो संख्यामा सवारीसाधन त्यसै थन्किएका छन् । अपराध अनुसन्धान तथा कानुन कार्यान्वयनका सिलसिलामा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरु कार्यालयमा खिया लागेका छन् । प्रहरी एकाईमा पर्याप्त पार्किङ नहुँदा अधिकांश सवारी साधन निरन्तरको घामपानीका कारण कवाडी बनिसकेका हुन् । जिल्ला प्रशासन र जिल्ला अदालतको मातहतमा मूल्यांकन समिति गठन गरी सवारी साधन लिलाम प्रक्रिया भए पनि सम्बन्धित निकायले चासो देखाएको पाइँदैन । एक वर्ष अवधिमा जिल्ला अदालत मकवानपुरले सवारी साधन लिलाम प्रक्रिया अघि बढाउने क्रममा २ पटक सूचना जारी गरेको थियो । तर, कुनै निकाय नआएको अदालतका तहसिलदार तुलसीप्रसाद लामिछानेले बताउनुभयो ।
‘सवारी साधन बेलैमा लिलाम हुने हो भने लाखौं राजस्व जम्मा गर्न सफल हुने देखिन्छ,’ उहाँले भन्नुभयो–‘लिलामका लागि मेकानिकल इन्जिनियरसहित मूल्यांकन समिति बन्छ । तर, मूल्य निर्धारण गर्ने कुरामा समस्या हुने गरेको छ । सवारीहरु लिलामका क्रममा सवारी लिने इच्छुकसँग मूल्यका विषयमा कुरा मिल्ने नगरेको लामिछानेले जानकारी गराउनुभयो । ‘पुराना सवारी साधन हुन्छन्, मर्मत गर्नुप¥र्यो, कर तिर्नुप¥यो । त्यसैले त्यसलाई उचित मूल्य कायम गर्न जरुरी छ,’ उहाँले औंल्याउनुभयो ।

जिल्लामा प्रहरीका साना चौकीसम्म सवारी साधन थन्किएको अवस्था छ । ठूलो संख्यामा २ पांग्रे तथा चारपांग्रे सवारी साधन लामो समयदेखि थन्किएर बसेका छन् । यसरी थन्किएका सवारी साधनको अवस्था हेर्दा कुनै नयाँ देखिन्छन् त कुनै वर्षौदेखि थन्किएका देखिन्छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार जिल्लाका प्रहरी कार्यालयहरुमा अधिकांश लागुऔषध, तस्करी, चोरी, प्रहरी चेकका क्रममा छाडेर गएका सवारीसाधन थन्किएर बसेका छन् । मुद्दा अनुसन्धानका क्रममा समयमै फैसला नहुँदा सवारी साधन यसरी रहने गरेको रिमालको भनाइ छ ।