सुदूरपश्चिममा प्रशस्त विकास भएको छ : मुख्यमन्त्री भट्ट

238
Shares

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताउनुभएको छ । जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उहाँले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताउनुभयो । नौवटै जिल्ला सदरमुकामसम्म सडक कालोपत्र गरिएको उहाँको भनाइ थियो । युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सडक सुविधा पु¥याएका कारण जोरायलस्थित छहरा झर्ना, पूर्वीचौकीको बगलेकलगायत पर्यटकीय ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको मुख्यमन्त्री भट्टले बताउनुभयो । सायल गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र भेलछडासम्म सडक निर्माणको काम अघि बढाइएको उहाँको भनाइ थियो ।