गोदावरी सम्मेलन हलमा एमालेको विधान महाधिवेशन


नेपाल समाचारपत्र, काठमाडौंं ।

नेकपा एमालेको प्रथम विधान महाधिवशेन देशकै ठूलो गोदावरी सनराइज सम्मेलन हलमा हुने भएको छ । गोदावरी नगरपालिकाअन्तर्गत निर्माण भएको देशकै ठूलो सम्मेलन हलमा एमालेले यही असोज १५–१७ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
सम्मेलन हलभित्र एकैपटकमा तीन हजार जना अटाउन सक्ने क्षमता रहेको छ । काठमाडौं उपत्यकाभित्र सभा–सम्मेलन गर्न सभाहलको अभाव भएपछि सरकारले ललितपुरको गोदावरीमा सम्मेलन हल निर्माण गर्ने निर्णय गरेको थियो ।

८० करोड लगानीमा ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भएको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख दिलीपशेखर श्रेष्ठले बताउनुभयो ।

११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङस्थलसहितको सम्मेलन हल निर्माण सम्पन्न गरेर आयोजनाले सञ्चालनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिएको छ ।

सम्मेलन हलभित्र विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्ष रहेका छन् । मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था रहेको छ । काठमाडौं उपत्यकाका प्रायः सभा–सम्मेलन करिब ९ सय क्षमताको प्रज्ञा भवन, ५ सय क्षमताको राष्ट्रिय सभागृह र हजार क्षमतासम्मको राष्ट्रिय नाचघर प्रयोग हुँदै आएको छ । देशकै ठूलो सम्मेलन हलमै कार्यक्रम गर्ने टुंगो लागेको नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तीन हजार जना एकैपटक अटाउने गोदावरी सम्मेलन हलमा पार्टीको प्रथम विधान महाधिवेशन तय गरेका छांै, उपत्यकाभित्र अयन्त्र ठूलो सभाहल नभएकाले गोदावरीमा गर्ने निर्णय गरेका छौं ।’ विधान सम्मेलनमा देशभरबाट तीन हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका सूचना अधिकारी विशेष भवन निर्माण आयोजनाले सञ्चालनका लागि आफूहरूलाई जिम्मेवारी दिएको बताउनुभयो । अहिले रेखदेखको काम समितिले गर्दै आएको बताउँदै समितिका सूचना अधिकारी कमल थापाले अहिलेसम्म एमालेले आधिकारिक रूपमा पत्राचार नगरेको बताउनुभयो । उहाँले सम्मेलन हलमा कार्यक्रम गर्न माग भएपछि निर्देशक समितिको बैठकमार्फत भाडा तोकेर सञ्चालन गर्न दिन सकिने बताउनुभयो । थापाले भन्नुभयो– ‘गोदावरी सम्मेलन हलको एक दिनको भाडा कति लिने भन्ने अझै टुंगो लाग्न सकेको छैन, आधिकारिक रूपमा पत्र प्राप्त भएपछि भाडा निर्धारण गरेर सञ्चालनको लागि दिन सकिन्छ ।’