ग्रामीण सडक पुनः सञ्चालनमा


रसुवा, (नेस)।

अवरुद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालनमा आएको छ । पहिरोले अवरुद्ध सडकमार्ग बनेसँगै गत असारदेखि बन्द नियमित यात्रुवाहक बसलगायत सबैखाले यातायात सञ्चालनमा आएको हो ।

डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५/३० जना स्थानीयवासीलाई त्रिशूली, काठमाडौंलगायतका स्थानमा आउ–जाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताउनुभयो । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएसँग यातायात सञ्चालनमा आएको उहाँको भनाइ छ ।

दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् । बससेवा पुनःसञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताउनुभयो ।