नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान


बैतडी, (नेस) ।

अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई बिहीबार कारागार चलान गरिएको छ । कारागार चलान गरिनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्की रहेकी छन् ।

माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार माधवीले यही भदौ ६ गते अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिनेबितिक्कै केराको साप्रोले घाँटी निमोठी हत्या गरेकी थिइन् । त्यसपछि घर–परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो ।

माधवीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारी गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । घर–परिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमति गरेका भए पनि ती किशोर हाल फरार रहेका छन् । माधवीका घरमा १३ वर्षीय छोरा पनि छ ।