‘कामका लागि भारत जानुपर्ने बाध्यता हटाउँछौं’


नेपाल समाचारपत्र, डोटी ।

सुदूरपचिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवाहरूलाई कामका लागि भारत जानुपर्ने वर्षौंदेखिको बाध्यता अन्त्य हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम सिलगढीमा बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

नागरिकलाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिने लगायतका कार्यक्रमहरु अघि सारेकाले अब यहाँका युवाहरुले घरैमा रोजगार पाउने मुख्यमन्त्री भट्टको दाबी छ ।

‘नागरिकलाई स्वरोजगार बनाउन हामीले बिनाधितो ऋण दिने योजना अघि सारेका छौं’, मुख्यमन्त्री भट्टले भननुभयो– ‘अब कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’ कृषिक्षेत्रलगायत विभिन्न काम गर्नका लागि बिनाधितो ऋण दिने सरकारले योजना ल्याएका छ । मुख्यमन्त्री भट्टले अबको अवश्यकता भनेको विकासको भएकाले हामीले अन्य कुरा छोडेर नागरिकको विकासमा लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकार गठन भएसँगै सुदूरपश्चिममा लामो समयदेखि रोकिएका विकास निर्माणका कामहरुले सुचारु पाएको समेत उहाँले दाबी छ ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघि सारी काम गरिरहेकाले यहाँका पर्यटकीय क्षेत्र चाडै नै देश–विदेशमा चिनाउने गरी काम भइरहेको बताउनुभयो– ‘सुदूरपश्चिमको खप्तड, बडिकेदारलगायतका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचार–प्रसार र विकासका लागि सडक विस्तारसँगै अन्य विकासका काम शुरु भएका छन् । सुदूरपश्चिम क्षेत्रको विकासका लागि वर्तमान सरकार निकै चासोका साथ अगाडि बढी रहेको छ ।’ प्रदेश सरकारले मात्रै पश्चिम सेती बनाउन नसक्ने भएकाले केन्द्र सरकासँग निर्माणका लागि पहल भइरहेकाले पश्चिम सेतीमात्रै बन्ने हो भने यहाँको विकासमा कायापलट हुने उहाँको कथन छ ।

त्यस्तै, छुट्टै प्रसंगमा बोल्नुहुँदै उहाँले पछिल्लो समय नेकपा एक भएको देख्न नचाहने शक्तिका कारण पार्टी विभिजन भएको आरोप उहाँले लगाउनुभयो ।