तानसेन बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती


कविराज नेपाल, पाल्पा ।

चाडवाड नजिकिँदै गर्दा बजारमा म्याद नाघेका वस्तुहरु फेला पर्न थालेका छन् । सदरमुकाम तानसेनमा अनुगमन गर्दा व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको हो ।

जिल्लास्थित प्रशासन कार्यालय, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको संयुक्त अनुगमन टोलीले बुधबार तानसेनमा गरेको अनुगमनका क्रममा उक्त कमजोरी फेला पारेको हो । तानसेनमा खाद्यान्न पसल, खुद्रा पसल, कस्मेटिक पसल, निर्माण सामग्री पसल, फलफूल तथा मासु पसलमा अनुगमन गरिएको थियो । टोलीले बुधबार तानसेनको मेहलधारा, गैरागाउँ, मिसनलगायतका स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका, नरिवल जुस, कुरकुरे, कुकिज, मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको जनाएको छ । यस्तै, म्याद नाघेर पनि प्रयोग गर्न नमिल्ने शृंगारका सामग्री क्रिम, तेललगायतका वस्तुसमेत टोलीले जफत गरेको जिल्ला पशासन कार्यालय पाल्पाका नासु हरिप्रसाद पन्थीले बताउनुभयो ।

प्रयोगका लागि उपयुक्त नभएका सामग्री जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मूल्यसूची टाँस नभएको, पसल दर्ता नगरी सञ्चालन गरेको, होडिङ बोर्ड नराखेको जस्ता कमजोरी भेटिएको थियो । तानसेनको विभिन्न स्थानका २८ वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीले बताउनुभयो । घरेलु कार्यालयले तयार गरेको कार्ययोजनाअनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।

पाल्पामा विगत लामो समयदेखि निषेधाज्ञा भएका कारण गोदाम तथा पसलमा स्टोर भएका सामग्री बिक्री भएको पाइएको अनुगमनमा सहभागीहरुले बताएका छन्