सुदूरपश्चिममा थप ३१ जनामा सङ्क्रमण


बैतडी ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज थप ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार चार जनाको नमूना परीक्षण गर्दा ३१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तीमध्ये २३ जनामा पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा सात र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच, कैलालीका दुई र डडेल्धुराका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ४० वर्षीया महिला रहेकी छन् । यसअघि बुधबार सुदूरपश्चिमका ५२ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ डिस्चार्ज भएका थिए ।