पर्वत-बागलुङ्ग जोड्ने कालीगण्डकी पुल: ५ वर्षमा ३५ प्रतिशत काम सकियो

7.24k
Shares

नेपाल समाचारपत्र, पर्वत ।

गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न पुष्पलाल(मध्यपहाडी) लोकमार्गको बैकल्पिक सडकको रुपमा निर्माण शुरु गरिएको कालीगण्डकी पुलको निर्माण शुरु भएको ५ बर्षमा ३५ प्रतिशत मात्रै काम सकिएको छ ।

पर्वतको फलेबास नगरपालिका र बागलुङ्गको जैमिनी नगरपालिका जोड्न कुस्मीशेरामा २०७३ असोजबाट निर्माण शुरु गरिएको मोटरेबल पुलको ३५ प्रतिशत मात्रै काम सकिएको हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न पुल निर्माण शुरु भएको थियो । २०७२ सालको अन्त्यतिर टेण्डर आव्हान भयो । न्यूनतम र सारभूत मूल्यमा काम गर्न तयार भएको टेण्डर पेश गरेका तीन कम्पनीले पुल निर्माणको जिम्मेवारी पाए । २०७३ असोज ९ गते रसुवा/श्री गिता/फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेपछि पुलको निर्माण प्रक्रिया भने धीमा छ । २०७१ सालमा पुलको आवश्यकता देखेपखि संबिधानसभा सदस्य बिकास लम्सालको पहलमा २०७२ सालको अन्त्यतिर पुल निर्माणको लागि टेण्डर आव्हान भएको थियो । कालीगण्डकीमा निर्माणाधीन पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु पर्दैन । ‘पुल छिटो बनाउने भनेर प्रारम्भिक कामहरु छिटो गर्न लगायौं, तर समस्या देखाएर पुल बनिरहेको छैन’। गण्डकी प्रदेश सरकारका निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका विकास लम्साल भन्नुहुन्छ ‘बीचमा आएका समस्या सहजीकरण गरियो ।’

पुलको बागलुङ र पर्वत दुबैतर्फ पिल्लर बनाउने काम मात्रै सकिएको छ । पिलरका लागि आवश्यक संरचना निर्माण र पुलको सुरक्षाका लागि लगाइने पर्खालको समेत केही काम भएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले बताउनुभयो । पटक–पटक म्याद थप गरेर पुल निर्माणका लागि निर्माण व्यवसायीलाई प्रोत्साहित गरेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

पुलको स्टमेट नै परिवर्तन गर्नुपरेकाले निर्माण व्यवसायीले समयमा काम गर्न नपाएको सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेको भनाई छ । ‘पहिले नर्मल फाउण्डेसनको स्टमेट थियो, पछि पाइल फाउण्डेसन गर्ने भनेर स्टमेट परिवर्तन गर्दा एक वर्ष फाइल अल्झियो’,लामिछाने भन्नुभयो ‘पाइल फाउण्डेसनका लागि आवश्यक मेसिन पुर्‍याउन बाटोको अभाव भएका कारण लामो समय काम भएन्, निर्माण व्यवसायी सम्झौता तोड्ने मानसिकतामा थिए, हामीले प्रोत्साहित गरेर काम गर्न लगाएका छौं ।’ असजिलो काम सकिएकाले अब भने पुल बन्ने आशा पलाएको लामिछानेले बताउनुभयो । १३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँमा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो ।