राँगेढुंगामा विश्वकर्माको मन्दिर


अनिल खत्री, गुल्मी ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासनजिकै राँगेढुंगामा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिका–४ स्थित राँगेढुंगामा विश्वकर्माको मन्दिरको पुनः मर्मत गरेर निर्माण गरिएको हो ।

मन्दिर निर्माण गरिएको स्थानमा पहिले रहेको मन्दिर जीर्ण बन्दै गएपछि पुनः आकर्षक तरिकाले निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा चल्ने सवारीसाधनका चालक तथा सवारी धनीबाट आर्थिक संकलन गरेर २०५८ सालमा मन्दिर निर्माण गरिएको यहाँको कथन छ । मन्दिर पुरानो हुँदै जीर्ण बन्न थालेको थियो । मन्दिर जीर्ण बन्न थालेपछि स्थानीयले सहयोग संकलन गरेरै खानेपानी, प्रतिक्षालय भवन र मन्दिरलाई नयाँ स्वरूप दिएर आकर्षक बनाइएको हो ।

मन्दिरमा हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको विशेष पूजा गरिने गरिन्छ । अन्य दिन दैनिकजसो पूजा हुनुका साथै नयाँ तथा पुराना सवारीसाधन किनेमेल गर्नेहरु पूजा गर्नको निम्ति मन्दिरमा आउने गर्दछन् ।

राँगेढुंगामा धार्मिक अस्थाका आधार विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको हो । जहाँ पूजा गर्नाले सवारीसाधन राम्रोसँग चल्ने, फलिफाप हुने मान्यता रहीआएको छ ।

निकै जोखिमपूर्ण सडक रहेको स्थानमा सवारीसाधनहरु दुर्घटना हुन थालेपछि दुर्घटना नहोस् भनेर मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मन्दिरको पुनर्निर्माण गर्न अहिलेसम्म १६ लाखजति खर्च भइसकेको उहाँले बताउनुभयो ।

मन्दिर मर्मत तथा पुनर्निर्माणका लागि रेसुंगा नगरपालिकाबाट १ लाख ३० हजार सहयोग भएको थियो । अन्य रकम विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण कार्य गरिएको स्थानीय झवि पाण्डेले बताउनुभयो । मन्दिर पुनर्निर्माणका लागि निर्माणकार्यको अनुगमन गर्न समतिका उपाध्यक्ष राजु पछाईलाई जिम्मा दिइएको छ । विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुसँग आर्थिक संकलन गर्ने कार्यका लागि स्थानीय तथा व्यवसायी झवि पाण्डेले गर्दै आएका छन् ।

जसअनुसार काम हुँदा रकम जुटाउने र निर्माण गर्ने कार्यले अन्तिम रूप पाएको छ ।

अहिले मन्दिर निर्माण गरिएको स्थानमा मन्दिर निर्माण हुनुपूर्व राँगोजस्तै आकारको ढुंगाका ठूलो मूर्ति थियो । जुन मूर्तिलाई आउ–जाउ गर्ने मानिस तथा सवारीसाधानका चालकहरू फूल, घाँसका पात चढाएर हिँड्ने गर्दथे ।

बाटो पनि निकै जोखिम थियो । जिल्लाको इस्मा र गुल्मी चारपालका राजाहरुको बीचमा अचंमको राँगाको पौराणिक इतिहासअनुसार इस्माका राजाले पालेको राँगो रातारात गुल्मी चारपालाका राजाको बारीमा तोरी खाएर रातारात उज्यालो नहुँदै फर्किंदै थियो । अचानक एकदिन त्यो राँगो तोरी खाएर फर्किने क्रममा बाटोमा पहिलो प्रहरको भाले बासेको र बिहान उज्यालो भएको हुँदा त्यो राँगो सेउघा र जोगिथुमको बीच भागमा शिलामा परिणत भएको पुरानो इतिहास रही आएको छ । अहिले पनि इस्मामा र गुल्मी चारपालामा राजाहरु बस्ने दरबार रहेको छ ।

हाल त्यो राँगाको शिला लुम्बिनी तम्घास सिमलटारी, ढोरपाटन जाने मोटरबाटो बनाउँदा विशाल राँगोको शिला पन्छ्याउँदा फुटेको थियो । त्यसैले अहिले मन्दिर बनेको स्थानलाई राँगेढुंगा भनेर सबैले चिन्ने र भन्ने गर्दछन् । अहिले मन्दिर परिसरसँगै स्थानीयको सहयोगमा राँगो जस्तै सानो शिला बनाएर राखिएको छ ।