काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुग्योः मेयर शाक्य


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताउनुभएको हो । ‘मलाई प्राप्त जानकारी अनुसार काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भन्नुभयो, ‘काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले लिए पनि यसको नेतृत्व प्रदेश माननीय राजेश शाक्यले गर्नुभएको छ ।’

शाक्य नेतृत्वको टीमलाई उहाँले धन्यवाद समेत दिनुभयो । ‘उहाँको टिमको टिमवर्कले गर्दा महानगरपालिकाको लगानीमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । अहिले अन्तिम कार्य अर्थात छानो छाउने काम भैरहेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘काष्ठमण्डप राम्रो बनाउनुपर्छ, चाँडो बनाउनुपर्छ र यसको ऐतिहासिक र साँस्कृतिक पक्षमा कुनै आँच नआउने गरी पुनर्निर्माण गर्नुपर्छ भनी शाक्यको टिम अनवरत यस कार्यमा लागेका कारण काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भयो ।’उहाँले राम्रो काममा सबैको साथ र सहयोग चाहिन्छ भन्दै सबैतिर राजनीतिक तवरले मात्र अघि बढ्न खोज्यो भने सफलता हात नपर्ने दृष्टान्त बताउनुभयो । ‘राम्रो कामको लागि सबै समुदाय, राजनीतिक कार्यकर्ता वा प्रतिनीधिहरु हातेमालो गरेर अघि बढ्नुपर्छ,’ शाक्यले भन्नुभयो, ‘काष्ठमण्डप यसको एउटा उदाहरण हो ।

’ काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष समेत रहनु भएका बागमती प्रदेश सांसद शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।प्रमुख शाक्यले कार्यक्रमलाई सम्वोधन गर्दै पुर्खाले सुनाएका इतिहास सबै थाहा भए पनि त्यसलाई लिपिबद्ध नगर्दा विदेशी पुस्तकको भर पर्नुपरेको गुनासो गर्नुभयो । ‘नेपालको सम्पदा, इतिहासको बारेमा पढ्नु प¥यो भने वा रिफ्रेन्स लिनु प¥यो भने विदेशी पुस्तकको सहायत लिनु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा धेरै जसो संस्कृति, सम्पदाको फोटो लिन निषेध गरिएको पाइन्छ । त्यसको बारेमा कसैलाई भन्नु हुँदैन भनेर कसैलाई सुनाउने पनि गरिँदैन ।’

तर, हामीले विदेशी लेखकहरुको पुस्तक ह-यौं भने त्यही पुस्तकमा जुन–जुन संस्कृति, सम्पदाको फोटो लिन निषेध गरिएको र त्यसको बारेमा भन्न नमिल्ने भनिएका सबै पाइने तथ्यप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘नेपालको यथार्थ थाहा पाउन विदेशीहरुको पुस्तक रिफ्रेन्स लिनु पर्ने बाध्यता अझै पनि छ,’ शाक्यले भन्नुभयो, ‘त्यसैले यसमा हामीहरुले अलि विचार परिवर्तन गर्नु पर्ने हो कि । साँच्चै नै हामिले फोटो लियौं वा यसको बारेमा कसैलाई भन्यौ भने त्यो सम्पदाको नाश नै हुने होकी । हाम्रो सम्पदा, संस्कृतिलाई लुकाउनु पर्ने होकि सबैका लागि प्रचार गर्नुपर्ने हो, बिचार गरौं ।’उहाँले कुनै पनि काम राम्रोसँग सम्पन्न गर्नका लागि एक्लैभन्दा पनि टिमवर्कमा विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘स्थानीय विषयवस्तु, स्थानीय भाषा नेपालभाषामा पाठ्यक्रम तयार पार्न सबै विज्ञहरुको साथ र सहयोगले यहाँसम्म आइपुगेको हो,’ कायर्यक्रममा सहभागी डा। चुन्दा बज्राचार्य तिर संकेत गर्दै शाक्यले भन्नुभयो, ‘उहाँहरु जस्ता विज्ञहरुको अथक एवं अनवरत मिहेनतले स्थानीय विषयवस्तुको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेर काठमाडौं महानगरपालिकाअन्तर्गतका विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म पढाउन सफल भएको छ ।

उहाँले महानगरपालिकाभित्रका सबै विद्यालयहरुमा १ देखि १२ कक्षासम्म यसको निरन्तरता दिनुपर्ने माग आइरहेको भन्दै त्यसतर्फ पनि महानगर सचेत रहेको जानकारी गराउनुभयो । उहँँले नेपालभाषा केन्द्रीय विभाग पाटन क्याम्पसलाई यसपालि ई–लाइब्रेररीको निम्ति ५० लाख बजेट छुटाएको स्मरण गराउँदै महानगरपालिकाले शिक्षामा लगानी गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश सांसद राजेश शाक्यले काष्ठमण्डपको छानो छाउने काम भैरहेको भन्दै अब छिटै काम सम्पन्न गर्ने बताउनुभयो ।