इजरायली कारागारबाट प्यालेस्टाइनी कैदी भागे


जेरुसेलम,(एजेन्सी) ।

इजरायली सरकारी निकायले मुलुककै सबैभन्दा कडा सुरक्षा प्रबन्ध गरिएको एउटा जेलबाट रातारात भागेका छ जना प्यालेस्टाइनी कैदीको व्यापक खोजिकार्य जारी राखेको छ । ति कैदीले महिनौ लगाएर कसैले चालै नपाउने गरी आफुहरू थुनिएको काठाबाट गिल्वोआ कारागारको पर्खाल बाहिरको सडक सम्म पुग्ने सुरुंग खन्न सफल भएका थिए । ती कैदीहरू आफ्नो खेत हुँदै भाग्दै गरेको देखेका किसानहरूले कारागारका अधिकारीहरूलाई खबर गरेका थिए ।

भगुवा कैदीमा प्यालेस्टाइनी लडाकु समूह अल–अक्सा मार्टियस ब्रिगेडका पूर्व नाइके र अन्य पाँचजना इस्लामिक जिहादका सदस्य रहेका छन् । प्यालेस्टाइनी लडाकु समूहहरूले यस घटनालाई वीरतापूर्ण भन्दै प्रशंसा गरेका छन् । तर, इजरायल कारागार सेवाका एक अधिकारीले भने – ‘यो घटनाले सुरक्षा तथा गुप्तचरको ठूलो लापरबाही र कमजोरी उजागर गरेको छ ।’ ती कैदीले उत्तरी इजरायलस्थित यस कारागारको आफूहरूले प्रयोग गर्ने शौचालयबाट सुरुङ खनेको पाइएको छ ।