ताइवानी वायु क्षेत्रमा १९ वटा चिनियाँ लडाकु विमान



ताइपेइ, (एजेन्सी) ।

ताइवानले आइतबार आफ्नो वायु प्रतिरक्षा परिचायक क्षेत्रमा थुप्रै संख्यामा चिनियाँ सैनिक जेट विमान प्रवेश गरेको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले १९ वटा चिनियाँ लडाकु र पारमाणविक बम बोक्न सक्षम विमान आफ्नो वायु क्षेत्रमा बिना अनुमति प्रवेश गरेको दाबी गरेको छ । एक वर्षभन्दा लामो समयदेखि ताइपेइले पटक–पटक चीनको वायु सैनिक फौजले यसरी आफ्नो आकाशमा अतिक्रमण गर्दै आएका भन्दै गुनासो गरिसकेको छ ।

चीनले ताइवानलाई आफ्नै टुक्रिएको भूभाग भएको दाबी गर्ने गरेको छ । तर, ताइवानले भने आफूलाई स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक भएको बताउने गरेको छ । ताइवानको रक्षा मन्त्रालयले चीनले पारमाणविक हातहतियार बोक्न सक्ने एच – ६ बमवर्षक विमान र एउटा पनडुब्बी भेदक विमानसमेत सो मिसनमा प्रयोग गरेको जनाएको छ ।

वायु प्रतिरक्षा परिचायक क्षेत्र कुनै पनि मुलुकका भूभाग र राष्ट्रिय वायु क्षेत्रभन्दा बाहिरै पर्ने भए पनि सम्बन्धित मुलुकलाई सो क्षेत्रमा पनि राष्ट्रिय सुरक्षा हितका लागि विदेशी विमानको पहिचान, अवलोकन र नियन्त्रण गर्ने अधिकार रहन्छ । गत जुनमा ताइवानकै इतिहासमा पहिलोपटक सबैभन्दा बढी अर्थात् २८ वटा विमान सो क्षेत्रमा एक्कासी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्