महेश बस्नेतले मलाई होइन, अब दुर्लभ थापालाई हराएर देखाउनु : प्रधानमन्त्री देउवा

3k
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब आउँने निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई हराएर देखाउन नेकपा एमालेका सांसद महेश बस्नेतलाई चुनौती दिनु भएको छ । आजबाट शुरु नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरको १४ औं अधिवेशन अन्तर्गत वडा अधिवेशनको सूर्यविनायक नगरपालिका वडा नं. ७ कटुञ्जे वडा समितिले आयोजना गरेको अधिवेशनको शुभारम्भ गर्दैै उहाँले यस्तो बताउनु भएको हो ।

एमाले सांसद महेश बस्नेतले केही दिन अगाडि शेरबहादुर देउवालाई भक्तपुरमा आएर आफूसंग चुनाव लड्न भनेको सन्दर्भलाई लक्षित गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “ महेश बस्नेतले आउँदो निर्वाचनमा मलाई होइन, भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस् ।” प्रधानमन्त्री देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताउदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको भनाइ राख्नुभयो ।

उहाँले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुवात भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्दै पार्टी थप सशक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्दै महाधिवेशन सफल बनाउन देश तथा विदेशमा रहेका नेपाली काँग्रेसका सबै एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले काँग्रेसको महाधिवेशन वडासतरबाट शुरु भइसकेको बताउदै सफल पार्न आग्रह गर्नुभयो । कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब काँग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले अबको स्थानीय तहदेखि संघीय निर्वाचनसम्ममा काँग्रेस विजय सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रम काँग्रेस वडा सभापति राजु ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । भक्तपुरको चारवटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन शुरु भएको बतउदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसहमति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताउनुभयो । भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । ती मध्ये निर्वाचन क्षेत्र नं. १ मा ३ हजार ७८२ र क्षेत्र नं. २ मा ६ हजार ५०४ जना छन् ।