पर्वतमा पहिरो जाँदा ५ को मृत्यु, ३ बेपत्ता



फाइल तस्बिर

दुर्गाप्रसाद शर्मा, पर्वत ।

अबिरल बर्षापछि पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बिहीबार गएको पहिरोमा परि कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाएपालिका ५ आम्बोटमा एक जनाको मृत्यु भएको हो ।

लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुस्मा ११ सिल्मीमा पहिरोले घर पुर्दा स्थानीय मनिलाल पौडेलको घरमा पाउना आएका मोदी गाउँपालिका ७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका छोरा ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । गएराती २ बजे घरमाथीबाट आएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । बेपत्ताको खोजी गर्ने क्रममा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटमा गएराती पहिरोले घर पुर्दा स्थानीय ५० वर्षीय फुलमाया थापाको मृत्यु भएको हो । गएराती १ बजे घरमाथीबाट आएको पहिरोले सुतिरहेकी उहाँलाई पुरेको थियो । पहिरोले पुरेर बेपत्ता भएकी उहाँको शब फेला पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्