‘दार्चुला घटनाबारे भारतलाई आधिकारिक रूपमा जानकारी छैन’


काठमाडौं, (नेस) ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुलामा भएको घटनाको बारेमा नेपालको गृह मन्त्रालयको छानबिन समितिले तयार पारेको प्रतिवेदनलाई नेपालको आन्तरिक मामिला भन्दै भारतले त्यसमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा आफूले मिडिया रिपोर्ट देखेको तर आधिकारिक रूपमा आफूहरूलाई कुनै जानकारी नआएको बताउनुभएको छ ।

नेपालको दुर्चलामा भएको भनिएको घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता हरेको भन्ने विषय एउटा आरोपमात्र भएको टिप्पणी गर्दै प्रवक्ता बाग्छीले कसैले लगाएको आरोपका बारेमा बोल्नु उचित नहुने बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘त्यस बारेमा पत्रपत्रिकामा आएका समाचार मात्र देखेको छु, कुनै पनि पक्षले हामीलाई सोधेको छैन । नेपालले के छानबिन ग¥यो, त्यो हाम्रो जानकारीमा अहिलेसम्म आएको छैन । त्यसैले त्यसबारे धेरै बोल्नु उचित नहोला ।’ भारतीय सञ्चारमाध्यमले उक्त पत्रकार सम्मेलनलाई प्राथमिकता दिएको छ ।

दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । उक्त घटनाको छानबिन गर्न नेपालको गृह मन्त्रालयले एउटा छानबिन समिति गठन गरेको थियो । सो समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा भारतीय सीमा सुरक्षा बल एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ । समितिले उक्त घटनामा एसएसबीको उपस्थितिबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिससमेत गरेको छ ।