आगामी साताभित्र उपत्यकाका विद्यालय खोल्ने तयारी


ईश्वरराज ढकाल, काठमाडौं ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार दिएपछि उपत्यकाका अधिकांश विद्यालय आइतबारबाट खुल्ने भएका छन् । उपत्यकाका दुई महानगरपालिका र ९ नगरपालिकाले आन्तरिक छलफल गरी सकभर आइतबारबाटै विद्यालय खोल्ने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले दुई दिनसम्म कोरोना संक्रमितको संख्या र अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने विषयमा प्याब्सन, एन प्याब्सन, अभिभावक महासंघ, शिक्षक संघ संगठनसँग छलफल गरेर नगर शिक्षा समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । प्याब्सन काठमाडौंले भने आइतबारबाटै विद्यालय खोल्न आन्तरिक सर्कुलर जारी गरेको छ । कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि स्थानीय प्रशासनले अवस्था विश्लेषण गरी विद्यालय खोल्न सक्ने अधिकार दिएको थियो ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुला गरेपछि काठमाडौंका १० वटा नगरपालिकालाई दबाब परेको बताउँदै आइतबारबाट काठमाडौं जिल्लाका विद्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको बताउनुभयो ।

एक हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयले भने दशैंपछि विद्यालय सञ्चालन गर्ने बताएका छन् । काठमाडौंमा झन्डै १ हजार २ सय निजी र करिब ३ सयको हाराहारीमा सामुदायिक विद्यालय छन् ।

बढी विद्यार्थी भएका विद्यालयमा दुई सिफ्ट वा बारअनुसार कक्षा सञ्चालन गर्नेगरी विद्यालय खुला गर्ने तयारी भइरहेको जानकारी दिँदै श्रेष्ठले भन्नुभयो– ‘जोरबार जोर कक्षा र बिजोर बार बिजोर कक्षा सञ्चालन गर्नेछांै ।’ उहाँका अनुसार साना कक्षालाई दिउँसो र ठूला कक्षालाई बिहान कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै उपत्यकाका नगरपालिकाले विद्यालय खोल्ने तयारी गरेको हो ।

गोदावरी नगरपालिकाले आइतबारबाट कक्षा ९ देखि १२ सम्मको कक्षा खुला गर्ने भएको छ । गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख देवी उपाध्यायले परीक्षणका रूपमा केही दिन ९–१२ कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो ।

गोदावरी नगरपालिकाको नगर शिक्षा समितिको हिजो बसेको बैठकले आइतबारबाट विद्यालय खोल्ने निर्णय गरेको हो । सो नगरपालिका क्षेत्रमा ३५ सामुदायिक र ४५ निजी विद्यालय छन् । प्याब्सन ललितपुरका अध्यक्ष साधेकृष्ण महर्जनले जिल्लाका ४ नगरपालिकाले बैठक बसेर निर्णय गर्ने जानकारी दिँदै भन्नुभयो– ‘सकेसम्म पर्सि आइतबारबाट विद्यालय खुला गर्नेछौं, नभए अर्को साताबाट खुला गर्नेछौँ ।’

ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षत्रीले सबै सरोकारवालासँग बैठक बसेर निर्णय गरिने बताउनुभयो । उता भक्तपुरले पनि आइतबारबाट विद्यालय खुला गर्ने विषयमा छलफल शुरू गरेको छ । प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले जिल्लाका सबै नगरपालिकाका प्रमुखसँग छलफल गरी एक दुई दिनभित्रै सामूहिक निर्णय गरिने बताउनुभयो ।

प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले लकडाउन हटिसकेको अवस्थामा विद्यालय खोल्नुपर्ने जिकिर गर्दै ५ महिनादेखि ठप्प विद्यालय खोल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले तत्काल जिल्ला प्रशासन कार्यालयसँग छलफल गरी आइतबारबाट खुल्नेगरी छलफल गरिरहेको बताउनुभयो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्नेमा जोड दिँदै भौतिक रूपमा पठनपाठन नहुँदा नेपालको शैक्षिकसत्र डामाडोल हुने र विद्यार्थीको पढाइस्तर अत्यन्त कमजोर हुने देखिएको टिप्पणी गर्नुभयो ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सिफ्ट अनुसार विद्यालय खोल्नु उचित हुने बताउनुभयो ।