मन्त्रिपरिषद् विस्तार भदौ २२ पछि

भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार हुँदैन :नेपाल


मधुसूदन रायमाझी, काठमाडौं ।

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ ।

यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद् विस्तारका लागि सक्रियता बढाउनुभएको छ । बिहीबार प्रचण्डले प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सरकारले सार्वजनिक गरेको प्रतिबद्धताअनुसारको कामलाई अगाडि बढाउने विषयमा छलफल गर्न प्रचण्डले प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भए पनि अझै मन्त्रालयको भागवण्डामा समेत सहमति जुट्न सकेको छैन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेअनुसार अहिले सत्ता गठबन्धनका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार हुँदैन :नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २२ गते अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैनन् । त्यस बारेमा अहिले केही चर्चा हुँदै छ, हामी उपयुक्त समयमा छलफल गर्नेछौं ।’

बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता नहुने पनि बताउनुभयो । क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग बिलीन हुने भ्रम नछर्न पनि नेपालले आग्रह गर्दै भन्नुभयो– ‘यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर क्रान्तिकारी विचारको आधारमा बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले ओलीको भ्रममा नपर्न पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिलाई आह्वान गर्दै भन्नुभयो– ‘केपी ओली र उनका मान्छेहरूले १० बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेका छन्, त्यस्तो भ्रममा नपरी हाम्रो दलमा आउनुहोस् ।’

त्यसै गरी नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।