एमालेको कमिटी एकीकृत समाजवादीमा रुपान्तरणको घोषणा


हेटौंडा, (नेस) ।

नेकपा (एकीकृत समाजवादी) को बिहीबार हेटौंडामा भएको भेलामा नेकपा एमालेको जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको घोषणा गरिएको छ ।

पार्टी जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्य मुनु सिग्देलले आफ्नो नेतृत्वमा रहेको नेकपा एमालेको जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको घोषणा गर्नुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र देशको संविधान बचाउने काममा दृढ रहेको पार्टी कमिटी औपचारिकरुपमा नेकपा (एकीकृत समाजवादी) को कमिटी बनेको दाबी गर्नुभयो ।

पार्टीको जिल्ला कमिटी, बिभिन्न जनवर्गीय संगठनका कमिटी स्वतः समाजवादीको बनेको उहाँको घोषणा थियो । सिग्देल नेतृत्वको एमाले जिल्ला कमिटी समाजवादीमा रुपान्तरित भएको भनिए पनि जिल्लामा एमाले जिल्ला कमिटीका तत्कालीन सचिव एकालाल श्रेष्ठको नेतृत्वमा नेकपा एमालेको जिल्ला कमिटी गठन रहेको छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को मकवानपुर जिल्ला अध्यक्षमा श्रीधर पोखरेल चयन हुनुभएको छ । पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको केन्द्रीय सदस्य सिग्देलले घोषणा गर्नुभयो । कमिटी जिल्ला उपाध्यक्षमा हेटौंडा उपमहानगर उपमेयर मीना लामा तथा सचिवमा विष्णु दाहाल चयन हुनुभएको छ । केन्द्रमा नेकपा एमाले फुटेपछि त्यसको प्रभाव प्रदेश, जिल्ला तथा स्थानीय निकायमा पनि पर्न सुरु भएको हो ।